डोल्पास्थित ताम्रावणीमा शिव मन्दिर स्थापना
Wednesday, October 6th, 2021, 5:11 pm
Kalpristha
काठमाडौंबाट हेलिकप्टरमा लगियो मुर्ति
विष्णुप्रसाद देवकोटा
डोल्पा, २० असोज
जिल्लाको प्रमुख धार्मिक तिर्थस्थलको रुपमा रहेको ताम्रावणीमा शिवालय मन्दिर निर्माण गरेर भगवान शिवको मुर्ति स्थापना गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक सहयोगमा २३ लाख रुपैयाँको लागतमा मन्दिरसहित त्रिशुलधारी शिव भगवानको मुर्तिसमेत स्थापना गरिएको हो । डोल्पा जिल्लाका प्रशिद्ध छलभवानी मष्टाका मुल पुजारी (धामी) वीरचन्द्र रोकायाले नवनिर्मित शिवालय मन्दिरमा झण्डै पाँच फुट अग्लो शिव भगवानको मुर्ति प्रतिस्थापन गरी उद्घाटन गरेका हुन् ।

मन्दिरमा प्रतिस्थापन गरिएको भगवान शिवको मुर्तिमा वस्त्र पहिराएर उद्घाटन गर्नुहुँदै प्रशिद्ध छलभवानी मष्टाका मूलपुजारी(धामी)वीरचन्द्र रोकाया
शिव मन्दिर तथा मुर्ति उद्घाटन पूर्व श्री बालात्रिपुरासुन्दरी भगवती मन्दिर तथा प्रशिद्ध छलभवानी मष्टाका पुरोहित गुरु यज्ञप्रसाद उपाध्यायबाट होमसमेत गराइएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाबाट शिवालय मन्दिर निर्माण, मन्दिर संरक्षणार्थ नदीमा तटबन्धन निर्माणका लागि १५ लाख र मुर्ति निमाणर्का लागि आठ लाख गरेर २३ लाख रुपैयाँ उपलब्ध गराइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्दा विष्टले जानकारी दिइन् ।
भगवान शिवको मन्दिर काठमाण्डौस्थित कालीगढबाट निर्माण गरेर हेलिकप्टेर मार्फत डोल्पा पुर्याइएको समाजसेवी तुलबहादुर विष्टले जानकारी दिए । नवनिर्मित मन्दिर उद्घाटन तथा शिव मुर्ति प्रतिस्थापन गर्न पुगेका प्रशिद्ध छल भवानी मष्टाका मुल पुजारी(धामी) रोकायालाई बाजागाजा सहित उपस्थित भक्तजनहरुले फुलमाला र अबिर टिका लगाएर स्वागत गरेका थिए ।

शिव मुर्ति प्रतिस्थापन गरिँदै
जिल्लाकै धार्मिक एवं तीर्थस्थल मध्येको एक मानिने ताम्रावणीमा शिवालय मन्दिर निर्माण सहित मुर्ति समेत प्रतिस्थापन भएपछि शिव भक्तहरुको दर्शनार्थ घुइचो लाग्न थालेको छ । शिरमा प्रशिद्ध छलभवानी मष्टा भगवानको मन्दिर उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा श्री बालात्रिपुरासुन्दरी भगवतीको मन्दिर, पुर्वमा गल्लीभवानी मष्टाको मन्दिरबीच संगमखोच भित्र शिवालय मन्दिर स्थापना भई मुर्ति समेत प्रतिस्थापन भएकाले पनि धार्मिक पर्यटन विकासमा यसले थप महत्वपुणर् भूमिका खेल्ने समाजसेवी बौद्धसिंह कठायतले बताए ।
मन्दिर तथा मुर्ति प्रतिस्थापन कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका वडाअध्यक्ष तथा स्थानीय भक्तजनहरुको बाक्लो उपस्थिथि रहेको थियो ।