‘भेरी अस्पतालले ब्लड बैंकलाई जबरजस्ती हटाउन खोज्यो’
Wednesday, October 6th, 2021, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असोज
भेरी अस्पताल प्रशासनले उचित विकल्पबिना रक्तसंचार केन्द्र (ब्लड बैंक)लाई हटाउन खोजेको आरोप लागेको छ ।
भेरी अस्पताल हाताभित्र रहेको ब्लड बैंकलाई भेरी अस्पातलको व्यवस्थापन समितिले १५ दिनभित्र भवन खाली गर्नका लागि पत्र पठाएको छ ।
जुन अवधिमा ब्लड बैंकलाई अन्यत्र सार्न निकै कठिन हुने भन्दै उचित विकल्पको खोजी गर्नका लागि रेडक्रसकर्मीले अपिल गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोबर्धनसिंह सम्झनाले अस्पताल प्रशासनलाई उचित विकल्पको व्यवस्था गरेर मात्र घर भत्काउन अनुरोध गरे । उनले भने, ‘ब्लड बैंकको बारेमा हामीले अस्पताल प्रशासनसँग विवाद गर्नु हास्यास्पद कुरा छ । मानवीय सेवाका लागि ब्लड बैंकको कति आवश्यकता छ । भेरी अस्पतालमा ब्लड बैंकले कति गरिब, दुःखी जनतालाई सेवा दिइरहेको छ भन्ने त्यो भन्न जरुरी छैन । तर पटक-पटक विभिन्न बहानामा अस्पतालले हामीलाई दुःख दिने काम गरिरहेको छ ।’
भेरी अस्पतालले अस्पताल परिसरमा भएका सटरलाई भत्काएर जमिन खालि गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पताल परिसरमा निजि फार्मेसी राख्न नमिल्ने भन्दै हटाउनका लागि परिपत्र गरेको थियो । जस अनुसार अस्पतालले भेरी अस्पतालको गेट अगाडि रहेका सटरमा रहेका फार्मेसी, नास्ता पसल लगायतलाई हटाएर भवन भत्काउन सूरु गरेको छ । त्यही परिसरको दक्षिणतर्फ ब्लड बैंक र चिकित्सक संघको भवन रहेको छ । ब्लड बैंकको बाहिर संरचना भत्काउन सुरु गर्दा सेवा प्रभावित हुने भन्दै केही समयका लागि रोकिदिन मात्र अनुरोध गर्दा पनि सुनुवाई नभएको सभापति सिंहले गुनासो गरे ।
पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका पूर्व उपाध्यक्ष अजितकुमार शर्माले अस्पतालको सौन्दर्यकरणको नाममा ब्लड बैंकलाई दुख दिने नियत राखिएको आरोप लगाए । उनले भने, ‘हामी त अचम्ममा पर्छौं । कस्ता व्यक्तिलाई राजनितिक दलले अस्पताल जस्तो जिम्मेवार निकायको नियुक्त दिन्छन् । रेडक्रसले उहाँहरुलाई के गर्न रोकेको छ ? मानवीय सेवामा हामी दिन-रात काम गरिरहेका छौं । हामीलाई सहयोग गर्नुको साटो अझ निरुत्साही बनाउने काम गरिन्छ ।’
अस्पताल प्रशासनको गलत नियत राख्ने सोचाईका कारण समस्या आएको उपाध्यक्ष शर्माले बताए । उनले भने, ‘हामी त्यहाँबाट हटन तयार छौं । त्यहाँबाट हटाए हामीले सेवा दिन नसक्ने होइन । तर यहाँ विवेकको कुरा हो ।’
आफूहरुलाई जबरजस्ती अस्पताल विकास समितिले हटाउन खोजेको कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको शर्माले बताए ।