सडकले स्थानीयलाई समस्या
Thursday, October 7th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असोज
निर्माणधिन सडकका कारण जानकी गाउँपालिका पिपरहवाका बासिन्दाले हैरानी खेप्नु परेको छ । सडक निर्माण कार्य सुस्त गतिमा भएपछि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । जानकी गाउँपालिका वडा नम्बर ६ पिपरहवा चौक देखी खुला कारागार जाने ७ किलोमिटर बाटो निर्माण भैरहेको छ । तर काम भने सुस्त गतिमा छ । जसका कारण स्थानीयलाई दैनिक आवात-जावतमा पनि समस्या भैरहेको छ । पानी परेको बेला त झनै समस्या हुने गरेको बताउँछन् जानकी गाउँपालिका-६ पिपरहवाका पहलाद गडरिया । उनले भने, ‘बाटोका कारण मेरो घरमा पानी जाने गरेको छ । सडकको नाली निकै माथिसम्म छ । अब यो सडक बन्दा हाम्रो घर, आगँनमा पानी पुगेर घरको सारा सामानलाई बिग्राने गरेको छ । पानी पर्दा त घरमा आउन जान समेत समस्या हुने गरेको छ ।’
सडक बन्न अघि नाली निर्माण भएको छ । तर सडक निर्माणको काम भने सुरु नभएको गडरियाले बताए ।
स्थानीय विश्वनाथ गुप्ताले पनि ठेकेदारले सडक निर्माणमा ढिलाई गर्दा गाउँलेले समस्या भोग्नु परेको बताए । कारागार सम्म जाने सडक भएपनि डेकेदार कम्पनीले ढिला गरी काम गर्दा स्थानीयलाई हिडडुलमा समेत कठिनाइ भएको उनको भनाई थियो ।
निर्माणका क्रममा खाल्डो परेर पानी जमेको दृश्य देखाउँदै गुप्ताले भने,‘हामीले भनेको कसैले पनि सुन्दैन । गाउँपालिका र वडाले सडक छिटो निर्माणमा चासो देखाएको छैन । उनीहरुलाई यो समस्याले केहि फरक पर्दैन । हामीलाई दैनिक हिड्दा सास्ती भोग्नु पर्छ । बुढा, बच्चालाई त झन हिडन समस्या छ ।’
स्थानीय निकायलाई सडक निर्माण कार्यमा ढिलाई भैरहेको बारेमा जानकारी भएपनि वास्ता नगरेको स्थानीयको भनाइ छ । बुधबार सडकको स्थलगत अवलोकनका क्रममा स्थानीयले निकैं दुःख भोग्नु परेको गुनासो गरिरहेका थिए । पिपरहवाकै जयमती लोनियाले स्थानीय जनप्रतिनिधिले आफनो स्वार्थ मात्रै हेर्ने गरेको आरोप लगाइन् । उनले भनिन्,‘उनीहरुलाई आफनै दुनो सोझाउनै ठिक्क छ । जनताका समस्याको बारेमा उनीहरुलाई के मतलब । हामीलाई यहाँ दैनिक हिड्न र काम गर्न कति समस्या छ ? त्यो उनीहरुलाई के थाहा ।’
आर्थिक वर्ष २०७८-८९ मै काम सक्ने गरी कार्य भैरहेको बताउँछन् सडक निर्माणको ठेक्का पाएका ठेकेदार । उक्त सडक एक करोड ५३ लाख लगानीमा जानकी गाउँपालिकाले निर्माण गरिरहेको छ ।
सडक निर्माणको ठेक्का पाएको पुष्पाञ्जली पियर्स जेभीका प्रमुख यादव काम सुरु भैसकेको बताउँछन् । उनले भने,‘ काम भैरहेको छ । फागुन, चैतसम्म सक्ने योजना छ ।’
स्थानीयले निर्माणको बेला केही समस्या भोग्नु परेको भएपनि त्यो अब धेरै समयसम्म नपर्ने बताउँछन् उनी । यादव भन्छन, ‘सडकमा धेरै लोड बोकेका गाडी, ट्रक धेरै हिडछन् । तीनले पनि खाल्डो छिटो बनाउने गरेका छन् । जसका कारण पानी पर्दा धेरै खाल्डो हुने, पानी जम्ने गरेको छ । यसले स्थानीयलाई केहि समस्या भएको छ ।’
जनताले समस्या भोगिरहेको विषयमा बुझ्ने प्रयास गर्दा जानकी गाउँपालिका-६ का वडा अध्यक्ष सुरेश यादवसँग भने सम्पर्क हुन सकेन ।