डा. नागका कर्मचारीले गरे सेवाग्राहीमाथि हातपात
Thursday, October 7th, 2021, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असोज
नेपालगन्जको विपी चोकस्थित एक क्लिनिकमा बिरामीका आफन्तमाथि हातपात भएको छ भने डाक्टरकै उपस्थितिमा दुव्र्यवहारसमेत भएको छ । कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नागले सन्चालन गरेको यश क्लिनिक (प्रकाश मेडिकल हल)मा कार्यरत एक कर्मचारीले बिरामीमा आफन्तमाथि हातपात गरेका हुन् ।
क्लिनिकमा उपचारका लागि आएकी बैजनाथ गाउँपालिका-६ सम्झनाकी दिलसरा बिसीका भाइ रवी बिसीमाथि क्लिनिकका कर्मचारीले हातपात गरेका हुन् । बोल्न नसक्ने दिलसरालाई असोज १९ गते ज्वरोको उपचार गराउन क्लिनिकमा ल्याइएको थियो । त्यतिबेला डा. नागले ज्वरो बिग्रिसकेकोले एक दुई दिन उपचार गरिहेर्ने र सन्चो नभए काठमाडौं रिफर गर्ने बताएका थिए ।
ज्वरो सन्चो नभएपछि बिहीबार बिहानै रवीले दिदीको उपचारबारे क्लिनिकका कर्मचारीसँग जिज्ञासा राखेका थिए । कर्मचारीले डाक्टरलाई भेटाइदिने बताएको समयमा डाक्टर भेट्न नपाएपछि पुनः जिज्ञासा राख्दा कर्मचारीले रवीमाथि हातपात गरेका थिए । रवीमाथि हातपात भएको सीसीटिभि फुटेजमा देख्न सकिन्छ ।
उक्त हातपातपछि रवीसँगै गएका साथीहरु र अस्पतालाका कर्मचारीबीच झडप उत्पन्न भएको थियो । झडपमा रवीको खुट्टामा चोट लागेको छ । नेपालगन्ज मेडिकल कलेजमा रवीको उपचार गर्दा घाउमा चारवटा टाँका लागेको छ । झडपका क्रममा डा. नागले पनि कर्मचारीहरुलाई उक्साएको पीडतको आरोप छ ।
घटनामा संलग्न क्लिनिकका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितले पनि उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
क्लिनिकमा आएका सेवाग्राहीले गुणस्तरीय सेवा पाउनु र चित्त नबुझे गुनासो गर्न पाउनु उनीहरुको अधिकार भएपनि क्लिनकका कर्मचारीले उल्टै हातपात गर्नु दुःखद भएको पीडितको भनाइ छ । दोषीलाई कानुनअनुसारको कारबाही गर्न उनीहरुको माग छ ।