दशैंको मुखमा परदेशिएकाहरु भन्छन्, ‘दशैंसँगै किस्ता पनि आउँछ’
Thursday, October 7th, 2021, 8:41 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २१ असोज
दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड । वैदेशिक रोजगारीले आम नागरिकको जीवन चलिरहेको नेपालका लागि दशैंको सबैभन्दा ठूलो महत्वमध्ये एक हो, परदेशीहरु घर फर्किने चाड ।
कणर्ाली र सुदूरपश्चिम प्रदेशवासीहरुको सबैभन्दा ठूलो वैदेशिक रोजगार गन्तव्य हो भारत । भारतसँग जोडिएका नाकाहरुमा यतिखेर स्वदेश भित्रिरहेका नेपालीहरुको भिड छ । नेपालगन्जको जमुनाह नाकामा पनि स्वदेश भित्रिरहेका नेपालीहरुको भिड छ । सँगै किनमेलका लागि भारतीय बजार रुपैडिहा जानेहरुको लर्को पनि उस्तै छ ।
स्वदेश फर्किरहेकाहरुको अनुहारमा अलिअलि भएपनि स्वदेश आइपुग्नुको खुसी झल्किन्छ । किनमेलका लागि गइरहेकाहरुको अनुहारमा पनि खुसी देखिन्छ । तर त्यही भिडमा झोला काँधमा हालेर भारततिर गइरहेकाहरुको पीडा उनीहरुलाई मात्रै थाहा छ ।
सुर्खेतको बाङ्गेसिमलका प्रेम विक र उनका भिनाजु बिहीबार घटस्थापनाको दिन नेपालगन्जस्थित भारत जाने बसको टिकट काउन्टरमा टिकटको मुल्यमा बार्गेनिङ गरिरहेको अवस्थामा भेटिए । प्रेमको निधारमा घरबाट छुट्टिदा लगाइएको अक्षताको दागपनि नेपालगन्जको गर्मीले सखालीसकेको थियो । बार्गेनिङमा कुरा नमिलेपछि टिकट काउन्टर सन्चालकले भनेको मुल्य तिर्न नसक्ने भन्दै प्रेम र उनका भिनाजु नाम लेखिसकेको टिकट छोडेर काउन्टरबाट बाहिर निस्किए ।

भारत जाने बसको टिकट काट्दै गरेका प्रेम विक र उनका भिनाजु
ढिलो भएमा गाडी छुटिहाल्ने तनावमा रहेका प्रेमले कालपृष्ठ समाचारदातासँग संक्षिप्त कुरा गर्दै भने, ‘हामीलाई दशैंको रमाईलोभन्दा बढी रोजीरोटीको चिन्ता छ । दशैंमात्रै आउँदैन बैंकको किस्ता पनि त सँगै आउँछ ।’
कुरा गर्दै जाँदा उनले भने, ‘म इण्डियाबाट आएको पनि तीन दिनमात्रै भयो । एउटा कामको लागि केही दिनको मात्रै बिदा मागेर आएको थिएँ । काम पनि सकियो । अलिअलि जग्गा किन्दा बैंकबाट ऋण लिएको थिएँ । अब यहाँ बसिराख्यो भने यस महिनाको किस्ता कसरी तिर्ने ? उतापनि सेठले चाडै आउन भनिरहेको छ ।’
करिब २७ वर्ष उमेर पुगेको बताउने प्रेमले भारत जान थालेको एक दशक भइसकेको बताए । उनले भारतको गुजरातमा चौकीदारीको काम गरिरहेको जनाए ।
दशैं मनाउन घर फर्किने बेला परदेशतिर लागिरहेका प्रेम र उनका भिनाजु मात्रै होइनन् । बस टिकट काउन्टर सन्चालकले बिहीबार घटस्थापना दिन अपरान्हसम्म करिब ५० जनाले टिकट काटेको बताए ।
जमुनाहस्थित प्रहरीसँग भने हाल कतिजना भारततिर गइरहेका छन् र कतिजना स्वदेश फर्किरहेका छन् भन्ने यकिन तथ्यांक छैन । नाका बन्द हुँदा भारत जानेहरुको रकेर्ड राख्ने गरेको प्रहरीले अहिले नाका खुला गरेपछि उक्त काम बन्द गरेको छ ।
हुन त राज्यका कुनैपनि निकायसँग भारत जानेहरुको यकिन तथ्यांक छैन । नेपालीहरुको सबैभन्दा ठूलो पीडा रोजगारीको समस्या समाधानका लागि कुनै ठोस काम गर्न नसकेका तीनै तहका सरकारले पनि भारत जाने नागरिकको तथ्यांक राख्न सकेका छैनन् । भारतका काम गर्न गएका नेपालीहरुको सुरक्षामा पनि राज्यले कुनै चासो दिएको छैन । काम गर्दा-गर्दै कतिपयले ज्यानै गुमाउने गरेका छन् भने कतिपय घाइते भएर फर्किन्छन् । कति नेपालीहरु भारतमै बेपत्ता छन्, जुन पीडासँग राज्यले कुनै सरोकार राख्न सकेको छैन ।
दशैंको बेला परिवार र देश छोडेर गइरहेका प्रेम भन्दै थिए, ‘बाध्यता भएको भए यतिखेर किन प्रदेश लागिन्थ्यो र ?’