साढे ७ अर्ब बढाइयो भन्सारको राजस्व लक्ष्य
Friday, October 8th, 2021, 5:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असोज
कुनैबेला लक्ष्यको ६० देखि ८० प्रतिशत मात्रै राजस्व संकलन हुने गरेको नेपालगन्ज भन्सारमा गत वर्ष लक्ष्यको करिब १२० प्रतिशत राजस्व संकलन भयो । राजस्व संकलनमा उल्लेख्य प्रगति देखेपछि भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयको चालू आर्थिक वर्षको लक्ष्य करिब सात अर्ब ३३ करोडले बढाइएको छ ।
गत वर्ष सुरुमा वार्षिक लक्ष्य १५ अर्ब १८ करोड ९२ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएकोमा लक्ष्यभन्दा बढी संकलन हुन थालेपछि संशोधन गरेर १७ अर्ब ७८ करोड २२ हजार ९५ रुपैयाँ पुर्याइएको थियो । यसवर्षको वार्षिक राजस्व संकलन लक्ष्य हाललाई २५ अर्ब ११ करोड ३६ लाख ६२ हजार रुपैयाँ तोकिएको छ ।
भन्सार कार्यालयले राजस्व संकलन सुधारको क्रमलाई राख्दै चालू आर्थिक वर्षका दुई महिनामा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
यस आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब ५० करोड ४४ लाख २९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा त्यसको १११ प्रतिशत अर्थात् एक अर्ब ६६ करोड ९९ लाख १६ हजार रुपैयाँ राज्वस्व संकलन गरेको छ ।
भदौ महिनामा भने लक्ष्यको ९३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । भदौमा एक अर्ब ९८ करोड १३ लाख ३६ हजार रुपैयाँ संकलनको लक्ष्य रहेकोमा एक अर्ब ८४ हरोड २६ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ११९.३६ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । भन्सार कार्यालयले बढाइएको लक्ष्यको पनि ११९.३६ प्रतिशत अर्थात २१ अर्ब २२ करोड ४७ हजार ५५ रुपैयाँ संकलन गरेको छ ।
भन्सार कार्यालयको आर्थिक वर्ष २०७६-७७ सम्मको राजस्व संकलनको अवस्था भने सन्तोषजनक थिएन । त्यसअघिका आर्थिक वर्षका कुनैपनि महिनामा लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने गरेको थियो । २०७६-७७ मा पनि कूल लक्ष्यको ७६ दशमलव २५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
भन्सारले कार्यालयले आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ७७ करोड आठ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेकोमा गत आर्थिक वर्ष २०७७-७८ को पहिलो सात महिनामै त्यसको दुई प्रतिशतले बढी ११ अर्ब ९८ करोड १० लाख २२ हजार रुपैयाँ असुली गरिसकेको थियो । त्यसपछि विभागले लक्ष्य संसोधन गर्दै करिब साढे एक अर्ब थपेर १७ अर्ब ७८ करोडबढी पुर्याएको थियो । उक्त लक्ष्य पनि पार गर्न भन्सार सफल भयो । गत आर्थिक वर्षका कुनैपनि महिनामा लक्ष्यभन्दा कम राजस्व असुली भएको थिएन ।
कसरी सुध्रियो राजस्व संकलन ?
नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत भण्डारी चुस्त व्यवस्थापनका कारण नै राजस्व संकलनमा वृद्धि भएको बताउँछन् । ‘यतिबेला न ठूलो संख्यामा उद्योगहरु स्थापना भएका छन् । न ठूलो संख्यामा आयात बढेको छ । आयातको मात्रा उस्तै भएपनि राजस्व बढ्नुले हामीले व्यवस्थापन चुस्त बनाएको पुष्टि गर्छ,’ भण्डारीले भने ।
प्रमुख भण्डारीले चोरी पैठारीमा कडाई, प्रशासनकि दक्षता, जाँचपासमा सुधारलगायतका कारणले चालू आर्थक वर्षको वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा गरिएको बताएका छन् । उनले भन्सार कार्यालयले चोरी निकासीमा कडाई गर्नुका साथै सीमा नाकामा भन्सार गस्ती बढाइएको जानकारी दिए । इमान्दारीपूर्वक काम गर्ने हो भने लक्ष्य पूरा गर्न कुनै कठिनाई नहुने पनि भण्डारीले बताए ।
भन्सारले एकपटक यात्रु शाखालाई पनि सक्रिय बनाएको थियो । तर, उक्त शाखाको चुस्त व्यवस्थापन गर्न नसकिएको भण्डारीले स्वीकारे । यात्रु शाखालाई चुस्त बनाउन संरचना र साधन दुवैको अभाव रहेको उनको भनाइ छ । नेपालगन्ज-१६ मा निर्माणधिन एकीकृत भन्सार जाँच केन्द्र आइसिपी बनेपछि पूर्वाधारका कारण भन्सारमा देखिएका समस्याहरु निर्मुल हुने भण्डारीको भनाइ छ ।
नेपालगन्ज भन्सार हुँदै भारतबाट आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, उद्योगधन्दाका लागि चाहिने कच्चा पदार्थ रहेको प्रमुख भन्सार भण्डारीले बताए । भण्डारीका अनुसार भन्सार नाकाबाट फलामका एंगल्स, पिलेट, क्लिंकर, जिप्सन, सिमेन्ट, कोइला बढी आयात हुन्छ ।
त्यसपछि चिनी र चामललगायतका खाद्य वस्तुहरुको आयात बढी हुने गरेको छ । चौथोमा कमर्सियल सामानहरु जस्तै टायल, मार्वल, चिनी आयात हुन्छ । यिनै वस्तुहरु राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुहरु रहेको भन्सारले जनाएको छ ।