सीमामा कुकुरसहितको चेकजाँच
Saturday, October 9th, 2021, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
बाँके प्रहरीले दशैंमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमानाका जमुनाहमा कुकुरसहितको विशेष जाँच (‘डग स्नाइफिङ’) गरेको छ ।
भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।

कुकुरसहितको चेकजाँच
‘लब्ली’ र ‘ब्यूटी’ नाम गरेका दुई कुकुरले भारतबाट नेपाल आएका मानिस, सवारी साधन र उनीहरुले ल्याएका सामानलाई जाँच गरेका थिए । ती दुवै कुकुर नेपाल प्रहरीका तालिमप्राप्त कुकुर हुन् ।
दुईमध्ये लब्लिले बिष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषध सम्बन्धी जाँच गरेका प्रहरीले जनाएको छ ।
हाल रोजगारीका लागि भारत गएका नेपालीहरु दशैं मनाउन घर फर्किरहेका छन् । केहीदिन अघिमात्र नाका खुलेकाले किनमेलका लागि रुपैडिहा जानेको उस्तै भिड बढेको छ ।
दशैँ लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको टोलीले जाँच गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । दुईवटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेको उनले बताए ।

कुकुरसहितको चेकजाँच
न्यौपानेका अनुसार बाँके प्रहरीले नेपालगन्ज नाकामा बेलाबेलामा तालिम प्राप्त कुकुरसहित जाँच गर्दै आएको छ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषध नेपाल ल्याउने गरिन्छ । नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषध बरामद गर्ने गर्दछ । यद्यपी कतिपय अवस्थामा त्यस्ता व्यक्ति फुत्किने हुँदा तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागुऔषध बरामद गर्ने गरेको पनि बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले बताए ।