यात्रुहरुबाट बढी भाडा असुलिँदै
Sunday, October 10th, 2021, 6:00 am
Kalpristha
कतिपय काउन्टरले भित्रिपट्टि काउन्टरको प्रयोजनमा सहज हुनेगरी मात्रै भाडादर टाँस गरिएको पाइयो । टाँस गरिएको भाडादर पनि हरेकको अलग-अलग थियो । प्रालिले तोकेको भनिएको उक्त भाडादरमा सरकारले तोकेको भाडारभन्दा झण्डै दोब्बरसमेत हुनेगरी उल्लेख गरिएको छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २३ असोज
नेपालगन्जबाट छुट्ने बस तथा यात्रुबाहक साधनहरुले सरकारले तोकेको भन्दा बढी भाडादर लिइरहेको पाइएको छ । सरकारले गएको असार २९ गतेदेखि लागु हुनेगरी भाडादर तोकेको छ । जसमा देशका मुख्य सहरदेखि अन्य सहायक र मुख्य सहर एवं स्थानसम्मको भाडादर नामै किटान गरेर उक्त मितिभन्दा पहिलेको भन्दा २८ प्रतिशत बढाएर भाडा तोकिएको छ । नाम नतोकिएका स्थानसम्मको भाडादरका लागि तराईमा २५० भन्दा बढी लामो दूरीका लागि प्रतिकिलोमिटर २ दशमलव ४३ रुपैयाँका दरले र अन्य २५ देखि २५० किलोमिटर सम्मको दुरीका लागि प्रतिकिलोमिटर २ दशमलव ४९ रुपैयाँका दरले भाडादर लिनुपर्ने सरकारले तोकेको छ ।
तर, नेपालगन्जबाट छुट्ने सार्वजनिक सवारीमा उक्त नियमलाई मिचेर भाडा लिइरहेको पाइएको छ ।
दशैंमा सहर छोडेर मानिसहरु गाउँ फर्किन्छन् । यतिबेलै सर्वसाधारणहरु विभिन्न बाहनामा ठगिने संभावना रहन्छ । तर यातायात व्यवसायीहरुले पहिलेदेखि नै नेपालगन्जबाट छुट्ने सवारीमा आफूखुसी भाडा लिइरहेको पाइएको छ । अधिकांश यात्रुहरुलाई हाल कायम रहेको भाडादर नै थाहा छैन ।
नेपालगन्ज बसपार्कमा कुनैपनि यातायात प्रालिको काउन्टरबाहिर भाडादर टाँस गरिएको छैन । नयाँ बनेको बसपार्कमा भौतिक संरचना सुधार भएपनि सेवामा सुधार हुन नसकेको नेपालगन्जबाट सल्यान जाँदै गरेको बसमा भेटिएका यात्रु विवेक एमसीले बताए । उनी सँगैको टोलीले सल्यान सम्मको लागि प्रतिव्यक्ति आठ सय ५० रुपैयाँ भाडा तिरेको उनले जानकारी दिए । ‘सल्यान ठ्याक्कै बजारमा त होइन । अलि माथिसम्म जाने हो,’ विवेकले भने, ‘अहिले भाडा बढेको छ भनियो । हामीले पनि धेरै बार्गेनिङ गरेनौँ ।’
जबकी नेपालगन्जबाट जाजरकोट सम्मको भाडा नै ६९३ मात्रै तोकिएको छ ।
कालपृष्ठले भाडादरबारे खोजी गर्दा कतिपय काउन्टरले भित्रिपट्टि काउन्टरको प्रयोजनमा सहज हुनेगरी मात्रै भाडादर टाँस गरिएको पाइयो । टाँस गरिएको भाडादर पनि हरेकको अलग-अलग थियो । प्रालिले तोकेको भनिएको उक्त भाडादरमा सरकारले तोकेको भाडारभन्दा झण्डै दोब्बरसमेत हुनेगरी उल्लेख गरिएको छ ।
नेपालगन्जबाट यतिखेर बाहिरिनेहरुमा भारतबाट कणर्ाली र लुम्बिनी प्रदेशका पहाडवासीहरु धेरै छन् । यातायात प्रालिहरुले सोही क्षेत्रसम्मको गाडीभाडामा चर्को असुली गरिरहेका पाइएको छ ।
दैलेखको राकमसम्म २२८ किलोमिटरको २ दशमलव ४९ रुपैयाँका दरले पाँच सय ६७ रुपैयाँ हुनुपर्नेमा नौ सय ८६ रहेको एउटा काउन्टरले उपलब्ध गराएको भाडादरमा उल्लेख गरिएको छ । यसैगरी मान्मा कालिकोट दुई सय ६३ किलोमिटरको ६ सय ५४ रुपैयाँँ हुनुपर्नेमा एक हजार ६ सय रुपैयाँ लिइरहेको पाइएको छ ।
सल्लीबजार सल्यान एक सय २४ किलोमिटरको तीन सय आठ रुपैयाँ हुनुपर्नेमा चा सय ४४, बड्डिचौर एक सय ३६ किलोमटिरको तीन सय ३८ रुपैयाँ हुनुपर्नेमा पाँच सय १३, जुम्लासम्मको तीन सय ४४ किलोमिटरको आठ सय ६० रुपैयाँ हुनुपर्नेमा दोब्बरभन्दा बढी एक हजार नौ सय १ रुपैयाँ तोकिएको छ ।
भालुबाङ एक सय ५५ किलोमिटरको तीन सय ७६ रुपैयाँ हुनुपर्नेमा पाँच सय रुपैयाँ लिइरहेका छन् । यो दर पनि सबै प्रालिमा एकैनासको छैन । बाँके भित्रै नेपालगन्जदेखि अगैया ५९ किलोमिटरका एक सय ४४ रुपैयाँ हुनुपर्नेमा एक सय ८५ रुपैयाँ भाडादर यातायात प्रालिले तोकेका छन् ।
सरकारले किटान गरेरै तोेकेको भाडादरमा पनि प्रालिले बढाएर सूची तयार गरेका छन् । नेपालगन्जबाट रुकुमसम्मको एक हजार ८३ तोकिएकोमा एक हजार तीन सय दुई रुपैयाँ, बुटवलको ६ सय ३६ तोकिएकोमा ६ सय ७७ पोखराको एक हजार एक सय २६ रुपैयाँ तोकिएकोमा एक हजार चार सय ७० लिइरहेको पाइएको छ । एक काउन्टरका कर्मचारीले डिलक्स बस भएको बताउँदै एक दुई सय ८६ रुपैयाँ भाडा तोकिएकोमा १६०० रुपैयाँ लिने गरिएको बताए । त्यसमा उनको तर्क थियो, ॅडिलक्स भएकोले महंगो भएको हो ।’ तर सरकारले अतिरिुक्त सुविधाको २० प्रतिशतभन्दा बढी भाडा बढाउन नमिल्ने उल्लेख गरेको छ । जुन नियमअनुसार पनि उक्त भाडा महंगो हो ।
यात्रुहरु पनि बसपार्कको टिकट काउन्टरमा पुगेर टिकट काट्नुभन्दा बाटोबाटै गाडी चढ्ने गरेका छन् । बसपार्क बाहिरको सडकमै गाडी पार्क गरेर मानिसहरु तानातान गर्ने क्रम बसपार्कको टर्मिनल बनिसक्दा पनि हटेको छैन ।
नेपालगन्ज बसपार्कमा खटिएका ट्राफिक प्रहरी सई पशुपति योगीले पनि व्यवसायीहरुले सडकमै यात्रुहरु चढाउने गरेको स्वीकार गरे । ’हामीले बसपार्कबाटै टिकट काटेर चढाउन र बाटोमा नरोक्न प्रयास गर्दै आएका छौँ । तर उनीहरुले टेर्दैनन्,’ योगीले भने ।
योगीले टिकट काउन्टर बाहिर सबैले देख्नगरी र बसभित्रै पनि भाडादर टाँस गर्नुपर्ने नियम भएपनि त्यो नभएको पनि बताए । अब आफूले भाडादर टाँस गराउने उनले प्रतिद्धता जनाए ।