रुवी खानलाई पक्राउ गरी नेपालगन्ज ल्याइयो
Saturday, October 9th, 2021, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असोज
महिला अधिकार मन्चकी बाँके संयोजक रुवी खान बहुविवाह मुद्धामा पक्राउ परेकी छन् । खानलाई काठमाडौंमा शुक्रबार पक्राउ गरी शनिबार जहाजमार्फत नेपालगन्ज ल्याइएको छ ।
रुवी जानकी गाउँपालिकाकी नन्कुनी धोबीको मृत्यु प्रकरणमा प्रहरीले उचित अनुसन्धान नगरेको आरोप लगाउँदै नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाण्डौ पुगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले रुवीलाई पक्राउ गरी ल्याई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
रुवीले पहिल्यै विवाह गरिसकेका नेपालगन्जका मोहम्मद शेर बागवानसंग विहे गरेपछि जिल्ला अदालत बाँकेमा बहुविवाहको निवेदन दर्ता भएको र अदालतले रुवीलाई अदालतमा उपस्थित गराउन प्रहरी कार्यालय बाँकेलाई आदेश दिएको थियो । डिएसपी न्यौपानेले कार्की थरका एकजना व्यक्तिले रुवीविरुद्ध मुद्धा दर्ता गरेको जानकारी दिए ।
सोही आदेशको पालना गर्न रुवीलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिए । उनलाई अब दशैंपछि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।