लुम्बिनीमा आज सरकार पूर्ण हुँदै
Sunday, October 10th, 2021, 2:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असोज
लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको दुई महिनापछि मन्त्रिपरिषद् पूर्ण हुने भएको छ । गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।
कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् । यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निणर्य कांग्रेसले गरेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।
कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँलाई पठाउने निणर्य गरिसकेको छ । कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।
यस्तै माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने यसअघि नै टुंगो लागिसकेको छ ।
माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।
आफ्ना पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन् । नेकपा खारेज पछि उनले गत बैशाख १९ गते माओवादी केन्द्र रोजेकी थिइन् ।
साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेपनि दलहरुले दलभित्रै र गठबन्धनमा मन्त्रालय र मन्त्रीको भागबण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूणर्ता पाउन सकेको थिएन । दुई महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा जनस्तरबाट दलहरु र सरकारको चौतर्फी आलोचना हुने गरेको छ ।
जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।
एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने भएकी छन् ।