रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
Sunday, October 10th, 2021, 4:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असोज
सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।
प्रहरीले रुबीलाई माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ गरी शनिबार नेपालगन्ज ल्याएको थियो ।
मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको अवस्थाबारे छानबिन तथा अनुसन्धान गर्न माग गर्दै रुबीको नेतृत्वमा ११ महिलासहित १४ जनाको टोली नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगेका थिए ।
पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको छ ।
बाँके जिल्ला नेपालगन्ज उप-महानगरपालिका-७ की स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।
नन्कुनी र निर्मलाको हत्या भएको दावीसहित हत्यामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस् भन्दै आवाज उठाउँदा अपमानित गरेको, अभद्र व्यवहार गरेको र अधिकारकर्मीलाई झुटा मुद्दामा फसाएको भन्दै बाँके जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेलाई तुरुन्त विभागीय कारबाही गर्नसमेत पीडितले माग राखेका छन् ।