लुम्बिनी सरकार दुई महिनापछि पूर्ण
Sunday, October 10th, 2021, 4:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असोज
लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको दुई महिनापछि मन्त्रिपरिषद् विस्तार भएको छ । गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज मन्त्रिपरिषद विस्तार भएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराए ।
कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बनेका छन् । कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।
माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्मा नियुक्त भएका छन् ।
कांग्रेसबाटै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिएकी छन् ।
यसअघि साउन २८ गते माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो ।
१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्याईएको छ ।

लुम्बिनी मन्त्रिपरिषद्