खजुरामा सडकको सास्तिविरुद्ध चक्काजाम
Sunday, October 10th, 2021, 6:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असोज
निर्माणधिन सडकका कारण सास्ती भोग्नुपरेको भन्दै खजुराका स्थानीयहरुले विरोध जनाएका छन् । विरोधस्वरुप उनीहरुले आइतबार दुई घण्टा चक्काजाम गरेका थिए ।
धनौलीदेखि एक नम्बरसम्मको सडक निर्माणमा ढिलाई हुँदा स्थानीयवासी एवं यात्रुहरुले धुलो सहनुपरेको, ढुंगा र गिट्टि उछिट्टिएर छेउछाउका पसल एवं घरहरुका सिसा फुट्न थालेको, दुर्घटना पनि अत्यधिक हुन थालेको भन्दै दुई घण्टा सडक बन्द गराएको स्थानीयले बताएका छन् । करिब ३ वर्षसम्म २ किलोमीटर बाटोसमेत निर्माण सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीविरुद्ध स्थानीयहरुले आक्रोश पोखेका छन् ।
‘कति गाडीका सिसा फुटेका छन्, कति पसलका हजारौं मूल्य पर्ने सिसा फुटेका छन् । ढुंगा उछिट्टिएर सडकमा हिड्ने मान्छेको खुट्टामा, छातीमा टाउकामा ढुंगाले चोक लागेको छ । यसको क्षतिपुर्ति कसले दिन्छ ? अनि धुलो त्यस्तै छ । न निर्माण कम्पनीले चाडो काम गर्छ । न बाटो सहज बनाउन सडक विभागले ध्यान दिन्छ । स्थानीय सरकार पनि मुकदर्शक भएर बसेको छ,’ स्थानीयवासी एवं आदिवासी जनजाती संघ खजुरका अध्यक्ष रमेश सिंजालीले भने ।
स्थानीयवासी एवं कांग्रेस नेता राजेन्द्र आचार्यले सडक निर्माण पनि सुस्त गतिमा भइरहेको र त्यसमाथि निर्माणाधिन सडकले उत्पन्न सहजता कम गर्नेतिर सम्बन्धित निकायले ध्यान नदिँदा सडकमा उत्रनुपरेको बताए । धुलो कम गर्नका लागि नियमित पानी छर्कनुपर्नेमा त्यसो पनि नगर्ने गरेको स्थानीयको गुनासो छ ।

निर्माणधिन सडक
तरुण दल खजुराको अगुवाईमा भएको चक्काजाम कार्यक्रममा खजुराका बुद्धिजीवी, व्यवासायी एवं सर्वसाधारणहरु सहभागी थिए । तरुण दलका क्षेत्रीय सभापति सन्तोष अधिकारीले काममा ढिलाई गर्ने कम्पनी, सडक विभाग र स्थानीय सरकार उत्तिकै जिम्मेवार रहेको बताए । ‘स्थानीय सरकारले जनतालाई भइरहेको सास्ति हेरेर बस्ने कि, त्यसको समाधान पनि खोज्ने ? उहाँहरु दिनहुँ यही बाटो हिड्नुहुन्छ । घर यहीँ छ । यो समस्या समाधान गर्ने स्थानीय तहको पनि जिम्मेवारी होइन ?’ अधिकारीले प्रश्न गरे ।
उक्त सडक निर्माणको जिम्मा गजुरमुखी निर्माण सेवाले लिएको । ६ महिना अघि नै निर्माण सम्पन्न हुनु्पर्ने भएपनि ६ महिना म्याद थप गरिएको छ । हाललाई निर्माण कम्पनीले सडकमा नियमति पानी छर्किने र असहजता कम गर्ने उपाय अपनाउने वाचा गरेको आचार्यले बताएका छन् । दशैंपछि सडक निर्माणलाई तीव्रता दिने सहमति भएको उनको भनाइ छ । यदि त्यसो नभएमा दशैंपछि पुनः थप आन्दोलनका कार्यक्रम अघि बढाइने उनले बताएका छन् ।