मूल महन्थले गरे पत्रकारमाथि दुर्व्यवहार
Monday, October 11th, 2021, 4:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज २५ असोज
पश्चिम नेपालको मुख्य धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिने नेपालगन्जको वागेश्वरी मन्दिर मूल महन्थ चन्दनाथ योगीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
समाचार संकलनका लागि मन्दिर परिसरमा पुगेका वरिष्ठ पत्रकार जिवन पाण्डे (जे. पाण्डे) र सविता जिसीलाई मूल महन्थ योगीले दुर्व्यवहार गरेका हुन् । मन्दिर परिसरमा पूजाआजा गर्न आएका भक्तजनहरुसँग टिभी रिपोर्टका लागि कुराकानी गर्ने क्रममा पत्रकार द्वयमाथि पुजारी योगीसहित अन्य ५ जनाको समूहले आक्रमणको समेत प्रयास गरेको छ ।
पुजारीहरुको समूहले आक्रमणको प्रयास गर्दै पाण्डेको क्यामेरा फुटाउन खोज्नुका साथै क्यामेराको तार समेत चुँडाउन खोजेको पत्रकार पाण्डेले बताएका छन् । मूल महन्थ योगीले पत्रकारहरुलाई बिनाकारण मन्दिर परिसरमा फोटो र भिडियो लिनबाट रोक लगाउँदै आएका छन् ।
दशैंका अवसरमा समाचार संकलनका लागि मन्दिर परिसरमा पुगेका पत्रकारमाथि आक्रोशित हुँदै महन्थ योगीले सञ्चार माध्यमले मन्दिरको प्रचार-प्रसार गर्न जरुरी नभएको बताएका थिए । साथै योगीले पत्रकार पेशाप्रति अवान्छित लान्छना पनि लगाएको कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादकसमेत रहेका पीडित पत्रकार जे पाण्डेले बताएका छन् ।
पत्रकारद्वयमाथि भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेले सोमबार एक विज्ञप्ती जारी गर्दै मन्दिरका मुख्य महन्त चन्दननाथ योगीले गरेको दुव्र्यवहारको निन्दा गरेको हो । महासंघका सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा संचारमाध्यममार्फत नागरिकको सुसुचित हुन पाउने संवैधानिक अधिकारको हनन् नगर्नसमेत चेतावनी दिइएको छ ।
महन्थले अन्य व्यक्तिहरुलाई पनि बोलाएर पत्रकारलाई धम्क्याउँदै मन्दिरबाट बाहिर निकाल्ने जस्तो निकृष्ट कार्य गरेको विज्ञप्तिमा उल्लेख छ । महन्थले हुलहुज्जत गर्न खोजेपछि मन्दिर परिसरमा भेला भएका दर्शनार्थीहरुले पत्रकारलाई जोगाएका थिए ।
मन्दिरको प्रचार प्रसारमा सन्चारकर्मीहरुलाई सहयोग गर्नुपर्नेमा उल्टो मन्दिरको धार्मिक एवं पर्यटकीय महत्वलाई संकुचित गर्नेगरी सन्चार क्षेत्रप्रति महन्थले देखाएको व्यवहारको महासंघले घोर निन्दा गरेको छ । साथै महासंघले मन्दिरको विकास र समृद्धिमा सन्चारमाध्यम र सन्चाकर्मीले पुर्याएको योगदानको कदर गर्दै सहज वातावरणमा मन्दिरको प्रचार प्रसार र समाचार संकलन गर्ने अधिकार सुनिश्चित गर्नपनि माग गरेको छ ।