मन्त्री हमाललाई गृहजिल्लामा स्वागत
Monday, October 18th, 2021, 5:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ कात्तिक
लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्ला बाँकेमा भव्य स्वागत गरिएको छ । मन्त्री पद सम्हालेपछि पहिलो पटक गृहजिल्ला बाँके आएका उनलाई कांगे्रेस नेता तथा कार्यकर्ता, खेलाडी, आफन्त र शुभेच्छुकले स्वागत गरेका हुन् । स्थलमार्ग हुदै आएका हमाललाई बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, अगैया, कोहलपुर, हवल्दारपुर, राँझा र नेपालगन्जमा स्वागत गरियो ।
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ घरबारीटोल निवासी मन्त्री हमाललाई बाजागाजासहित स्वागत गरिएको थियो । कोहलपुरमा आयोजित कार्यक्रममा सहभागी भएपछि उनले लखनास्थित मरिमाता मन्दिरको दर्शन गरेका थिए । त्यसपछि नेपालगन्ज आएर प्रसिद्ध शक्तिपीठ बागेश्वरी लगायत विभिन्न मन्दिरको दर्शन गरे ।
ओलम्पियनसमेत रहेका मन्त्री हमाललाई बागेश्वरी मन्दिर परिसरमा खेलाडीको एक समुहले स्वागत गरेको थियो । घरबारी टोल क्षेत्रमा मन्त्री हमाल आफै घर-घरमा पुगेर भेटघाट समेत गरे । ठुलो संख्यामा उपस्थित भएका कांग्रेस नेता तथा कार्यकर्ता, आफन्त तथा शुभेच्छुकले माला, खादा र अबिर लगाएर उनको स्वागत गरे ।
स्वागतपश्चात मन्त्री हमालले आफुमाथी ठुलो जिम्मेवारी थपिएको बताउँदै आफुमाथी आमरुपमा गरिएको विश्वासलाई खडो र इमान्दारी पर्वक काम गरेर देखाउने प्रतिवद्धता जनाए ।
मन्त्री हमालले वातावरण संरक्षण, वन अतिक्रमण र डढेलो नियन्त्रण तथा वैज्ञानिक वनका विषयमा कार्ययोजना बनाएर काम गर्ने सोच बनाएको बताए ।
स्थलमार्ग भएर नेपालगन्ज आएका उनलाई आइतबार पनि विभिन्न ठाउँमा स्वागतसँगै बधाई दिएका थिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । मन्त्री हमाल आइतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित आफन्त कहाँ बसेका थिए ।
नेपालगन्ज-२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा-२ (ख) बाट निर्वाचित भएका थिए । गृहनगर नेपालगन्जमा करिब चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ ।