धान किसानलाई राहतको माग
Tuesday, October 19th, 2021, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
धान किसानलाई राहत एवं उत्पादित धानको खरिद सहज र प्रभावकारी बनाउन माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । धानमा आएका समस्या समाधानका लागि उपाय खोज्न र किसान राहत दिने ठोस निणर्य लिन माग गर्दै अखिल नेपाल किसान महासंघले बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउन लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्रि आरती पौडेलसमेतको टोली प्रशासन कार्यालय पुगेको थियो । टोलीमा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक खडक बहादुर खड्का, महासघं बाँकेका संयोजक केबल प्रसाद शर्मा, राष्ट्रिय कृषक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सर्वजित विष्ट लगाएत किसानका अगुवाहरु सामेल थिए ।
ज्ञापनपत्रमा किसानलाई यो वर्ष वर्षाले थप पीडा दिएकाले सरकारले धान खरिद गर्दा राहत पुग्ने गरी खरिद गरिदिन आग्रह गरिएको छ । प्राकृतिक विपत्तिले पारेको प्रभावलाई ध्यानमा राख्दै तोकेको मूल्यमा थप राहत दिनेगरी वृद्धि गरेर धान खरिद गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
धान भित्राउने बेला लगातार परेको पानिका कारण भएको नोक्सानीको क्षतिपूर्ति सरकारले दिनुपर्नेमा पनि ज्ञापनपत्रमा जोड दिइएको छ । सरकारले धान खरिद गर्दा निश्चित मात्रा नतोकेर धेरै भन्दा धेरै खरिद गर्नसमेत किसानका अगुवाहरुले माग गरेका छन् ।
किसानले उत्पादन गरेको कृषि वस्तुले उचित मूल्य नपाएको भन्दै यसतर्फ पनि सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका छन् । ज्ञापनपत्रमा किसानका समस्या जस्ताको त्यस्तै रहेको भन्दै यसतर्फ अखिल किसान महासंघको गम्भिर ध्यानाकार्षण भएको उल्लेख गरिएको छ ।
महासघंले किसानले उत्पादन गरेको धानमा भएको क्षतिलाई स्थानीय, प्रदेश र संघीय सरकारले गम्भिर रुपमा लिएर उचित राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद नभए आन्दोलन समेत गरिने चेतावनी महासघंले दिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले किसानको समस्या समाधान गर्न आवश्यक पहलकमी लिइने प्रजिअ खत्रीले आश्वासन दिएका छन् । धान खरिद प्रक्रियाका लागि निर्देशन आएलगतै खरिद गरिने मात्रा र दिन तोकिने उनले बताए । उनले तत्काल कृषि ज्ञान केन्द्रलाई धान खेतीमा भएको नोक्सानीको तथ्यांक संकलन गर्न पनि निर्देशन दिएका छन् ।