सरकारद्वारा बाढीपहिरो पीडितलाई राहत घोषणा
Wednesday, October 20th, 2021, 4:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ कात्तिक
सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने निणर्य गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निणर्य गरेको हो ।
बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एक जनाभन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निणर्य गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
उनका अनुसार बाढी पहिरोमा परी घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्नेछ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई सञ्चालन निणर्य गरेको छ ।
घर बनाउन कम्तिमा तीन लाख दिइने
सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निणर्य पनि भएको छ । मन्त्रिपरिषद् बैठकको निणर्यअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री खाँणले जानकारी दिए ।
घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निणर्य भएको छ ।
उद्धारमा खटिन निर्देशन
प्रधानमन्त्री देउवाले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्लाई निर्देशन दिएका छन् । राहत र पुनर्स्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत उनले निर्देशन दिएका छन् ।
बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी-पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनस्र्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण संकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।