मेडिकल कलेजमा आकस्मिक बाहेकका सेवा बन्द
Wednesday, October 20th, 2021, 5:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।
आफुहरुको मागमा व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै कर्मचारीहरुले पूर्वघोषित कार्यक्रम अन्तर्गत बु्धबारदेखि आपतकालिनबाहेकका सेवा बन्द गरेका हुन् । सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ ।
आपतकालिन सेवा बन्द गर्नु अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले अस्पतालले कर्मचारीलाई शोषण गरेको आरोप लगाए ।
पाँच वर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएको उहाँको भनाइ छ । स्थायी, अस्थायी र करारका कर्मचारीहरुको तहगतरुपमा नेपाल सरकारले कायम गरेअनुसार तलब भत्ता दिनु पर्ने उनको भनाइ छ ।
आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिए । अस्पतालले पटक-पटक सहमति गर्ने र त्यसको पालना नगर्ने गरेको भन्दै आपत्ती जनाए । बिहीबारसम्म माग सम्बोधन नभए थप कडा आन्दोलन गरिने उनको भनाइ छ ।
तलब भत्ता बृद्धिलगायतका विभिन्न सात बुँदे माग राखेर सोमवारदेखि आन्दोलनमा उत्रिएका हुन् । सुविधा सम्बन्धी माग राख्दै कर्मचारीले यसअघि पनि पटक-पटक आन्दोलन गरेका थिए । अस्पताल व्यवस्थापन पक्षले उनीहरुको मागलाई पूणर् रुपले सम्बोधन गर्न सकेको थिएन ।
माग पूरा नभएपछि कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले दशैंलगत्तै संयुक्त आन्दोलन सुरु गरेका छन् । उनीहरुले अघि सारेमा मागहरुमा तलबभत्ता बृद्धि हुनुपर्ने, थप दरबन्दी सिर्जना गरिनुपर्ने, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायत रहेका छन् ।