भेरीकी नर्सिङ अधिकृत शर्मा इन्टिग्रिटी आइकन
Wednesday, October 20th, 2021, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ कात्तिक
भेरी अस्पतालकी नर्सिङ अधिकृत शीला शर्मा यसवर्षको इन्टिग्रिटी आइकन छनौट भएकी छन् । अकाउन्टिबिलिटी ल्याबले शर्मासहित नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिका, मकवानपुर कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोग उप-सचिव डा. लोक बहादुर लोप्चनलाई इन्टिग्रिटी आइकन घोषित गरेको हो ।

इन्टिग्रिटी आइकन
नर्सिङ अधिकृत शर्माले कोरोना महामारीमा गरेको सेवालाई कदर गर्दै आइकन घोषित गरेको ल्याबले विज्ञप्तिमा जनाएको छ । महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईनसकेको अवस्थामा शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरेकी थिइन् ।
उनले नर्सहरूलाई तालिमको व्यवस्था गरेको, भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएमा उनले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाएको विज्ञप्तिमा उल्लेख छ । शर्माले उपलब्ध अक्सिजनको समुचित उपयोग होस् भनेर अफ ड्युटी नर्सहरू परिचालन गरेर अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गरेको पनि ल्याबले जनाएको छ ।
ल्याबले हरेक वर्ष उत्कृष्ट काम गर्ने पाँच जना राष्ट्रसेवक कर्मचारीलाई इन्टिग्रिटी आइकनले सम्मानित गर्दै आएको छ ।
दिदिहरूलाई देखेर नर्स बन्ने रहर
शिला शर्मा वि.सं २०४२ सालमा बर्दियाको ठाकुरबाबा नगरपालिकामा जन्मिईन । उनको बाल्यकालको पढाई गाउँकै चुरे माध्यामिक विद्यालयमा भयो । उनका ठुलो बुबा र काकाका छोरीहरू नर्सिङ सेवामा थिए । उनी कहिलेकाहीँ दिदिहरूसँगै अस्पताल जाने गर्दथिन् । दिदिहरुले बिरामीको सेवा गरेको देख्दै गर्दा उनलाई पनि नर्स बन्ने रहर पलायो । कक्षा ८ मा पढ्दा उनले जसरी पनि नर्स बन्ने अठोट कसिन् । पैसा तिरेर नर्स पढाउने परिवारको आर्थिक क्षमता छैन भनेर उनले राम्रोसँग बुझेकी थिईन् । त्यसैले पनि छात्रवृत्तीमा नाम निकाल्नुपर्छ भनेर उनले मेहनत गरिन् । सोही अनुरुप २०५८ सालमा उनले एसएलसि उतिणर् गरिन् । छात्रवृत्तीमा प्रविणता प्रमाणपत्र तह पुरा गरेकी शर्माले छात्रवृत्ति पाएरै बिएन सकिन् ।
दबाब र धम्किीको प्रवाह नगरी पीडितलाई उपचार तथा न्याय दिन तत्पर
२०७३ सालमा सरकारी सेवामा प्रवेश गरेकी शर्माले एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको जिम्मेवारी पाईन् । बाँकेमा हिंसा पीडित महिलालाई उद्धार पश्चात कहाँ राख्ने भन्ने चुनौती थियो । माईती नेपालसँगको समन्वयमा सेफ हाउसको व्यवस्था गरिन् । जहाँ हरेक वर्ष १८० जना लाभान्वीत हुदै आएकाछन् । एकद्वार संकट व्यवस्थापन केन्द्रमा प्राय जसो घटनाहरु रातिको समयमा आउने गरेकाछन् । तर, उनले कहिल्यै पनि थकित महसुस गरिनन् । अहिलेसम्म उनले १५० भन्दा बढी केसहरु हेरिसकेकीछिन् । प्राय जसो घटनाहरु दर्ता भए पनि दवाबमा मिलाउन खोजिन्थे । उनीकहाँ पुगेका घटनाका पीडितले भने न्याय पाए । कतीपय घटनाका पीडकहरू उनलाई धम्कि पनि दिने गर्दछन्, तर उनी जिम्मेवारीबाट कहिल्यै पछि हटिनन् । उदाहरणको लागि, एकजना बालिका चिनेजानेकै व्यक्तिबाट बलात्कृत भएको घटना दर्ता भएको थियो । मुद्दा परिवर्तन गरिदिनुपर्यो भनेर उनलाई धम्की र प्रलोभन देखाईयो । उनले तत्काल प्रहरीलाई जानकारी गराईन् । पीडितले न्याय पाईन । पीडकलाई कानून बमोजिम कारवाही भयो ।
व्यवस्थापकिय कार्यकुशलताले कोभिडका बिरामी बेड र अक्सिजन नपाएर फर्किनु परेन
एकद्वार संकट व्यवस्थापन केन्द्रको जिम्मेवारीमा रहेकै बेला नेपालमा पनि कोभिडको संक्रमण देखिन थाल्यो । भेरी अस्पतालले उनलाई कोरोना फोकल पर्सनको जिम्मेवारी दियो । कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । उनले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरिन । यहि बिचमा आईसोलेशन पनि तयार भयो । पहिलो र दोस्रो दुबै लहरमा नेपालगञ्ज कोरोनाको हटस्पट नै बन्यो । जताततै बेड, अक्सिजन र स्वास्थ्यकर्मीको अभाव थियो । भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो । उनले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अक्सिजन राउण्डको व्यवस्था गरिन । त्यसका लागि अफ ड्युटी नर्सहरुले अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गरे ।
परिवारको सदस्य गुमाउदा पनि विचलित नभएर जिम्मेवारीमा खटिईन्
कोभिडकै कारण उनले ससुरा गुमाईन् । सानो छोरा पनि संक्रमित भयो । छोरालाई उनले माईतीमा छोडेर बिरामीकै सेवामा खटिईन । उनको परिवारलाई जसरी प्रभावित गर्यो, त्यसरी नै अरुको परिवारलाई प्रभावित नगरोस भनेर पनि उनी दिनरात कोभिड रोकथाममा खटिईन् । उनी र उनको टिमको प्रयासले भेरी अस्पतालले कोभिड रोकथाममा उदाहरणिय काम गर्न सफल भयो ।