अनियमित कर्मचारीबारे छानबिन गर्दै भेरी अस्पताल
Thursday, October 21st, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ कात्तिक
भेरी अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर चन्दले अस्पतालमा अनियमित तरिकाले भर्ना गरिएका कर्मचारीबारे छानबिन सुरु गरेको बताएका छन् ।
भदौ १ गतेदेखि ६ महिना अवधिका लागि करारमा खटाइएका २२ जना कर्मचारीहरुको नियुक्तिमा नियमको पालना नगरिएको उनको भनाइ छ ।
कालपृष्ठ सँगको कुराकानीमा मेसु चन्दले भने, ॅअस्पतालमा ती कर्मचारीहरु भर्ना गर्दा आवेदन आश्वान गर्नुथ्र्यो, सक्षम उम्मेदवारहरुलाई प्रतिस्पर्धाको मौका दिनुपथ्र्यो । त्यो नभएको मैले बुझेको छु ।’
चन्दले ती कर्मचारीबारे के गर्न भन्ने निणर्य भने हुन बाँकी रहेको बताए । नियुक्त गरिएका कर्मचारीहरुबारे आफू आइसकेपछि छलफल सुरु गरिएको पनि जानकारी दिएका छन् । यद्धपि आफू आइसकेपछि माथिल्लो निकायबाट उक्त नियुक्तिबारे अहिलेसम्म कुनैपनि निर्देशन वा चासो व्यक्त नभएको उनको भनाइ छ ।
अस्पताल विकास समितिले गरेको उक्त अनियमित कर्मचारी भर्ना विरुद्ध अख्तियारमा पनि उजुरी परेको छ । दुई फरकम मितीमा परेका उजुरीहरु अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका प्रमुख कृष्ण कुमार निरौलाले अख्तियारबाट उक्त विषयमा मुद्धाबारे छानबिन गरी नियमित गर्न निर्देशनसहित मन्त्रालयमा पठाइएको आफूले जानकारी पाएको बताए ।
अख्तियारले पठाएका ती उजुरीबारे मन्त्रालयमा भने के भइरहेको छ भन्नेबारेमा कुनै सूचना प्राप्त हुन सकेन ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यसबारेमा आफूकहाँ कुनै जानकारी नआइुपगेको बताएका छन् । उनले यस विषयमा बुझ्ने बताएका छन् ।
भेरी अस्पतालमा कोभिडको समयमा आवश्यक भएको भन्दै भदौ १ गतेदेखि ६ महिना अवधिका लागि २२ जना कर्मचारीहरु प्रकृया नपुर्याई करारमा खटाइएको छ । भर्ना गरिएका कर्मचारीहरु एनेस्थियोलोजिष्टदेखि कम्पुटर सहायकसम्म छन् ।
अस्पताल विकास समितिका पदाधिकारी, कर्मचारी, राजनीतिक दलका नेता एवं पत्रकारहरुकोसमेत भाग मिलाएर कर्मचारीहरु नियुक्त गरिएको एकजना कर्मचारीले बताए ।
कर्मचारी भर्ना गर्दा विज्ञापन गर्नुपर्ने, परीक्षा लिनुपर्ने र नतिजा प्रकाशन गरी कर्मचारी नियुक्त गर्नुपर्नेमा प्रक्रिया नपुर्याएरै कर्मचारी भर्ना गरिएको छ । अस्पताल प्रशासनका अनुसार १२ जना पहिले नै आह्वान गरिएको विज्ञापनको नतिजामा वैकल्पिक सूचिमा परेका कर्मचारीहरुलाई अर्कोपटक नियुक्त गरिएको थियो । ९ जना कर्मचारीहरु भने अस्पताल विकास समितिले विज्ञापन नै नगरेर भर्ना गरेको छ ।
अस्पतालमा १० जना स्टाफ नर्स, एकजना अहेब र एकजना हेल्थ असिस्टेन्टलाई पहिले नै आह्वान गरिएको विज्ञापनमा वैकल्पिक सूचिमा परेकाहरुलाई अर्कोपटक विज्ञापन नै नगरी भर्ना नियुक्त गरिएको थियो ।
कोभिड-१९ विरुद्ध खटाउन सरकारले ११ जनाको दरबन्दी स्वीकृत गरेको बेला लिइएको परीक्षामा वैकल्पिक सूचिमा परेकाहरुमध्ये केहीलाई अर्कोपटक स्वीकृत गराइएको दरबन्दीमा परीक्षा नै नलिएर नियुक्त गरिएको छ ।
अस्पताल स्रोतका अनुसार २२ जनामध्ये १० जना कर्मचारीहरु त झन् कुनै प्रतिस्पर्धामा सहभागी नगराएरै नियुक्त गरिएको छ । जसमा एकजना अहेब, तीनजना हेल्थ असिस्टेन्ट, तीनजना खरिदार, एकजना मनोपरामर्शदाता र एकजना कम्प्युटर सहायक रहेका छन् ।