तलब भत्ता बृद्धि गर्न सकिँदैन : मेडिकल कलेज
Thursday, October 21st, 2021, 4:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ कात्तिक
नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन पक्षले आन्दोलनरत कर्मचारीको माग पुरा गर्न नसकिने बताएको छ ।
कलेजले बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक संकटले गुज्रेको अवस्थामा अस्पताललाई थप व्ययभार पर्ने कुनै पनि माग पूरा गर्न नसकिने स्पष्ट पारेको हो ।
मेडिकल कलेजले गत आर्थिक वर्ष २०७७-७८ मा कुल एक सय ४२ करोड आम्दानी गर्दा एक सय ४६ करोड बढी खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हाल मेडिकल कलेजमा नौ सय ५० जना स्थायी कर्मचारी, तीन सय जना करार र मेडिकल शिक्षणतर्फ एक सय ५० जना कर्मचारी गरी कुल एक हजार चारसय ५० कर्मचारी कार्यररत रहेकाछन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोना महामारी तथा कलेजमा विद्यार्थी संख्या कटौती भएका कारण विगत दुई वर्षदेखि अस्पताल घाटामा चलिरहेकाले व्ययभार थप्नेगरी कर्मचारीको माग सम्वोधन गर्न नसकिने बताए । उनले भने, ‘कोभिड र अन्य कारणले दुई वर्षदेखि मेडिकल कलेज घाटामा गइरहेको छ । त्यो पूर्ति गर्नका लागि कम्तीमा दुई वर्ष लाग्छ, डा. कनोडियाले भन्नुभयो, त्यसपछि तलव बढाउने विषयमा बसेर छलफल गर्न सकिन्छ ।’
कोभिडका कारण मेडिकल कलेजमा ०७६/७७ मा एकजना पनि विद्यार्थी भर्ना नभएको र ०७७/०७८ विद्यार्थी भर्नाको टुंगो नै नभएको कनोडियाले बताए । संस्था घाटामा गइरहेको थाहा हुँदाहुँदै पनि तलवभत्ता बढ्नु पर्यो भनेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा प्रभावित गर्नु अराजकता भएको कनोडियाले बताए ।
धेरै कर्मचारी पुराना र स्थायी रुपमा कार्यरत रहेकाले उनीहरुलाई सेवाबाट हटाउन पनि नसकिने र तत्काल तलबभत्ता बृद्धि पनि गर्न नसकिने उनको भनाइ छ ।
मेडिकल कलेजका कर्मचारीहरु कार्तिक १ गतेदेखि तलब बृद्धि लगायत ७ बुँदे माग राखेर आन्दोलनमा छन् । उनीहरुले प्रशासन, अस्पताल लगायतमा ताला लगाएर इमरजेन्सी बाहेक सबै सेवा ठप्प पारेका छन् ।
मेडिकल कलेजका सञ्चालक तथा फाइनान्स विभाग प्रमुख श्यामकुमार शर्माले कर्मचारीको तलब, भत्ता नेपाल सरकारको नियम अनुसार २०७५ सालमा बृद्धि गरिएको र कोरोना महामारीका कारण संस्था घाटामा गएकाले बृद्धि गर्न नसकिएको बताए ।
शर्माले कर्मचारीको आन्दोलनका कारण अहिले दैनिक १५ देखि २० लाखसम्म घाटा भइरहेको पनि दावी गरे ।