वर्षापीडितको लागि दूरगामी योजना बनाउछौँ : देउवा
Friday, October 22nd, 2021, 9:13 pm
Kalpristha
हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिमका विभिन्न बाढीपीडित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले बाढीको समस्या समाधानका लागि दूरगामी योजना ल्याईने बताएका छन् । आज कैलालीको पूर्वी क्षेत्रमा बाढीले पारेको असरका बारेमा निरीक्षण गर्न पुगेका देउवाले सरकार बाढी पीडितको समस्या समाधानका निमित्त चिन्तित रहेको बताए ।
हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए । उनले काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निणर्य गर्ने बताए ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको प्रति दुःख लागेको बताउँदै सरकार आगामी दिन जनताले यस्ता खालका समस्या भोग्न नपरोस् भन्नेमा चिन्तित रहेको बताए ।
प्रधानमन्त्री देउवा बाढी पहिरोले क्षति पुर्याएका सुदूरपश्चिमका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशको बर्दियाको राजापुर क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उनीसँगै नेपाल सरकारका अर्थमन्त्री जनादर्न शर्मा, पर्यटन मन्त्री प्रेमबहादुर आले लगायत सहभागी थिए ।
अप्रत्यासित रुपमा परेको वर्षाले कैलालीलाई तहसनहस बनाएको छ । वर्षासँगैको बाढीले धानबाली नराम्ररी प्रभावित भएको छ । बाढीले समग्र जनजीवन अस्तव्यस्त बनेको छ । कणर्ालीको बाढीले टीकापुर नगरपालिका-८ मा मात्रै करिव आठ सय घरपरिवार विस्थापित भएका छन् । बाढीले स्थानीयको गासबास बगाएको मात्रै हैन खेतबारी समेत बगर बनाईदिएको छ ।
यसैबिच, प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनबारे गठबन्धनले निणर्य गर्ने बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले चाहेर मात्र अर्ली इलेक्सन नहुने बताए ।
सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा भइरहेका बेला गठबन्धनले निणर्य लिने बताए । यस्तै सुदूरपश्चिम प्रदेशका बाढी-पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतको व्यवस्था गरिने आश्वासन दिए । बाढी-पहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने उनले बताए । प्रधानमन्त्री देउवाले एमसीसी पास गरिने पनि बताएका छन् ।