बालश्रमिक नराख्ने इट्टा उद्योगीको प्रतिबद्धता
Friday, October 22nd, 2021, 9:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ कात्तिक
बाँकेका ईट्टा व्यवसायीले आफ्ना उद्योगमा बालश्रमिक नराख्ने प्रतिवद्धता जनाएका छन् । बाँके युनेस्को क्लबले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
ईट्टा व्यवसायी संघ बाँकेसंगको समन्वय र सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष लगायतका पदाधिकारी तथा अन्य व्यवसायीले बालश्रमिक नराख्ने प्रतिवद्धता ब्यक्त गरे ।
उनीहरुले उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई उचित शिक्षाको प्रबन्ध मिलाउने बताए । सो क्रममा बोल्दै संघका अध्यक्ष देवबहादुर ओलीले अबदेखि कुनैपनि ईट्टा उद्योगले बालश्रमिक नराख्ने र त्यसका लागि नियमित अनुगमन समेत गरिने व्यवस्था मिलाइने बताए ।
उद्योगीले उद्योगमा काम गर्ने मजदुरका छोराछोरीलाई शिक्षाको व्यवस्था मिलाउने जानकारी गराएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।
संघमार्फत नै यो कुराको जानकारी जिल्लाभरका सबै ईट्टा उद्योगीलाई गराइने उनले बताए । संघका वरिष्ठ उपाध्यक्ष सत्तार खाँले उद्योगमा काम गर्ने भारतीय मजदुरका छोराछोरीलाई पनि उनीहरुले बुझ्ने भाषामा शिक्षाको व्यवस्था मिलाउन पहल गर्ने बताए । कार्यक्रममा संघका उपाध्यक्ष रामचन्द्र शाह, महासचिव केशवराज भण्डारी, कोषाध्यक्ष विजयबहादुर शाह लगायत कार्यसमितिका सदस्य तथा अन्य उद्योगीको पनि सहभागिता रहेको थियो ।