अब्बल कोरियोग्राफर राजकुमार
Saturday, October 23rd, 2021, 8:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ कात्तिक
पाल्पा रामपुरको एउटा गाउँमा जन्मेका राजकुमार सानैदेखि नृत्यमा रुचि राख्थे । विद्यालय, गाउँटोल र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रममा राजकुमार नाच्न पुगिहाल्थे । अलि ठूलो हुँदै गएपछि उनले नृत्यकलाकार भन्दा बढी आफूलाई अभिनय गर्ने कलाकारको रुपमा सपना देख्न थाले । सबैभन्दा बढी उनी राजेश हमालबाट प्रेरित थिए । करिब १८ वर्षअघि राजकुमारले वाचा गरेका थिए, ‘म अबको ठिक १८ वर्षपछि राजेश हमालजस्तै हुन्छु ।’
त्यही वाचा मनका राखेर काठमाडौ पुगेका राजकुमार पर्दामा त देखिए । तर उनी पर्दामा देखिने कलाकारलाई नचाउने कलाकारका रुपमा व्यवसायिक कोरियोग्राफरका रुपमा स्थापित भए ।
यसैवर्ष उनले रामकृष्ण ढकालले स्वर दिएको ‘मेरो देश’ शिर्षकको देशभक्ति गीतको म्युजिक भिडियो कोरियोग्राफी गर्ने मौका पाए । जसमा मुख्य अभिनेता छन् राजेश हमाल । ‘राजेश हमालसँग सेटमा भेट भएको दिन ठ्याक्कै मैले राजेश हमाल बन्छु भनेर वाचा गरेको ठिक १८ वर्ष पुगेछ । त्यो संयोगको विषय मैले राजेश दाइसँग पनि साँटे । उहाँले खुसी हुँदै सपना देखेपछि कुनै न कुनैरुपमा साकार हुन्छ भन्नुभयो । त्यो दिन मेरो जीवनको एक अविस्मरणीय दिन हो,’ राजकुमारले भने ।
उनी ग्रामीण जनजीवनमै हुर्किए । हाल राजकुमार नेपाली चलचित्र क्षेत्रका चल्तीका डान्स कोरियोग्राफर हुन् । चलचित्र नृत्यमा अहिले उनको दमदार पक्कड छ । नृत्यकारको रुपमा यस क्षेत्रमा प्रवेश गरेका उनी अहिले नेपालका व्यस्त एवं रोजाइका डान्स कोरियोग्राफर हुन् ।
राजकुमारले नेपाली चलचित्रभित्र नृत्यको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै आएका छन् । सबै चलचित्रमा एकैखाले नृत्य हेर्न बाध्य नेपाली दर्शकहरुले उनको प्रवेशपछि विविधता देख्न पाए । लोक नृत्य, आधुनिक नृत्य, क्लासिकल नृत्य, हिपहप, वेष्टर्न नृत्यका जानकार उनको कला र प्रस्तुति वास्तवमै नृत्य प्रेमीहरुको लागि तारिफयोग्य नै छन् ।
मौलिक नृत्य उनको पहिचान हो । मौलिकताभित्र युगको आवश्यकता र दर्शकहरुको रुचीलाई समिश्रण गरी उनले नृत्यलाई अझ आकर्षक र लोभलाग्दो बनाउने गर्छन् । नृत्य गर्न भनेपछि हुरुक्क हुने राजकुमारको यो सकृयता र मेहेनतले नेपाली चलचित्र र म्युजिक भिडियो क्षेत्रले थुप्रै कुशल नृत्यकार र डान्स कोरियोग्राफर पनि जन्माएको छ ।
अभिनेता बन्ने लक्ष्य पूरा नभएपनि चलचित्रमा एक अब्बल कोरियोग्राफरका रुपमा स्थापित हुन पाएकोमा राजकुमार सन्तुष्टि व्यक्त गर्छन् । उनी सफलता असफलताको मापनमा भन्दा पनि कामको गुणस्तरमा प्राथमिकता दिन्छन् । उनी भन्छन्, ‘सफलताको मापन के ले गर्ने ? आय आर्जनको रूपमा हेर्दा आफूलाई चाहिने आर्जन गरेकै छु । काम पनि पाएकै छु । समाजले राम्रो नजरले हेरेको पाउँछु । दर्शकहरूको माया पाएकै छु । निर्माता निर्देशकको रोजाइमा छु । म सफल छुभन्दा पनि नियमित कर्म गर्न सक्ने कर्मयोगी हुँ । म मेरो कामलाई कसरी उत्कृष्टता दिन सकिन्छ भन्ने कुरामा चिन्तित डान्स कोरियोग्राफर हुँ ।’
उनको नृत्य कौशलतको परिचायकका रुपमा उनले बक्स अफिस बेस्ट डान्स कोरियोग्राफर अवार्ड २००८, डि सिने बेस्ट कोरियोग्राफर अवार्ड २०११, नेफ्टा बेस्ट डान्स कोरियोग्रार्फ अवार्ड २०१३ र बक्स अफिस बेस्ट डान्स कोरियोग्राफर २०१९ जस्ता अवार्ड प्राप्त गरेका छन् ।
नेपालका विभिन्न स्थानमा हुने नृत्य प्रतियोगिताहरुमा निणर्ायकको भूमिका समेत निभाउँदै आएका राजकुमार रिवन इन्टर्टेन्मेन्टले आयोजना गरेको सुपर डान्स कम्पिटिसन २०१४, नेपाल टेलिभिजनले आयोजना गरेको नेसनल डान्स कम्पिटिसन २०१७, नेपाल संगीत संघले आयोजना गरेको नेशनल डान्स कम्पिटिसन २०१८ र नेपाल नृत्य संघले आयोजना गरेको राष्ट्रव्यापी नृत्य प्रतियोगिता २०१९ को निणर्ायकको भूमिका समेत निभाइ सकेका छन् ।
यसको अलावा उनी नेपाल चलचित्र कलाकार संघको मानार्थ सदस्य, नेपाल चलचित्र नृत्यकार संघको आजीवन सदस्य, विचार मिडिया गु्रपको उपाध्यक्ष, त्यसैगरी नेपाल आदिवासी चलचित्र संघको नृत्य प्रशिक्षक, नेपाल चलचित्र समाजको सचिव, कान्तिपुर डिजिटल रेकर्डिङ स्टुडियोको नृत्य प्रशिक्षक र राजधानी कला केन्द्रको वरिष्ठ नृत्य प्रशिक्षक समेत रहेका छन् ।
अभिनेता बन्ने सपना बोकेर काठमाडौं छिरेका राजकुमार अहिले एक सिद्धहस्त कोरियोग्राफरका रुपमा स्थापित भएका छन् । दिप्रतिदिन चलचित्र उद्योगमा उनको माग चुलिँदो छ ।