बाँकेका सबै वडामा एमालेको नयाँ नेतृत्व
Saturday, October 23rd, 2021, 8:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ कात्तिक
नेकपा एमाले बाँकेका सबै वडामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् । शनिबार सफलता पुर्वक सम्पन्न भएको वडा अधिवेशनबाट बाँकेका ८१ वटै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अदालतले पुनः छुट्टयाईदिएपछि नयाँ नेतृत्व चयन हुन नसक्दा एमालेका कार्यकर्ताहरुमा एकप्रकारको अन्यौलता छाएको थियो । तर, जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडाहरुमा शनिबार सम्पन्न वडा अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन भएपछि पार्टीमा नयाँ उर्जा थपिएको जिल्ला अध्यक्ष गुरुङ्गले बताए ।
गुरुङले अधिवेशनबाट वडाका समितिहरु निर्वाचित भएर आएसँगै बाँकेमा नेकपा एमालेले नयाँ गति लिने विश्वास व्यक्त गरे । एमालेको पालिकास्तरीय अधिवेशन यही कात्तिक ९ गते हुने जनाईएको छ ।
शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट देशभरका सबै स्थानीय तहका वडा अधिवेशन डिजिटल प्रविधिको प्रयोग गरी उद्घाटन गरेका थिए । शनिबार बाढी विपद्ले समस्याग्रस्त भएका पालिकामाबाहेक देशभरका सबै वडामा अधिवेशन सम्पन्न भएको जनाइएको छ ।
शनिबार सम्पन्न अधिवेशन राज्य पुनर्संरचनापछिको एमालेको प्रथम वडा अधिवेशन हो ।