कुकाठ झिकेर नयाँ रुख रोप्छौं : मन्त्री हमाल
Saturday, October 23rd, 2021, 3:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ कात्तिक
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलका कुकाठ झिकेर वृक्षारोपण गर्ने योजना रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री हमालले छिटो भन्दा छिटो कुकाठलाई जंगलबाट बाहिर निकाल्ने योजना रहेको सुनाए । ‘हामीले कुकाठ जति जंगलमा राखिराख्छौं, उत्तिनै राज्यलाई नोक्सानी हुन्छ । ती काठहरुलाई झिकेर वृक्षारोपण गर्ने तयारी थालेको छु,’ मन्त्री हमालले भने, ‘प्रदेशका १२ वटै जिल्लाका रहेका कुकाठको लगत लिन सुुरु गरिसकेको छु ।’
मन्त्री हमालले अब बृक्षारोपण गर्दा अलि ठूलो रुखका विरुवाहरु लगाइने पनि बताएका छन् ।
उनले वातावरण संरक्षण र संवर्द्धनको लागि वैज्ञानिक वृक्षारोपणमा जोड दिने आफ्नो योजना रहेको पनि बताएका छन् ।
मन्त्री हमालले कोहलपुर-नेपालगन्ज, तुलसीपुर-घोराही र बुटवल-घोराही सडकखण्डको वीचमा रुख रोपेर हरियाली बनाइने बताए । उनले वयस्क रुख रोप्दा उपयुक्त हुने सुझाव आएकाले वयस्क रुख रोप्ने योजना रहेको बताए ।
उनले भू-संरक्षण, बाढीपहिरो, नदी कटानको समस्या समाधानका विषयमा कसरी काम गर्न सकिन्छ भनेर आफू छलफलमै रहेको बताएका छन् ।
वर्षाले किसानको धान बालीमा ठुलो क्षति पुर्याएकोमा लुम्बिनी प्रदेश सरकार चिन्तित भएको भन्दै उनले किसानलाई प्रदेश सरकारले अवश्य पनि राहत उपलब्ध गराउने बताए ।
‘किसान दाजुभाई, दिदी बहिनीले मेहेनत गरेको धान काटेर घर भित्र्याउने क्रममा हुँदा वर्षाले क्षति गरिदिएको छ, प्रदेशको एउटा मन्त्री भएको नाताले म विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारले खुला हृदयका साथ सहयोग पुर्याउनेछ,’ उनले भने ।
पत्रकार भेटघाट कार्यक्रम युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । सो क्रममा युनियनका तर्फबाट अध्यक्ष ओलीले वनमन्त्री हमाललाई गम्छा र खादा ओढाएर सम्मान गर्दै बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो समेत प्रदान गरेका थिए ।