बाँकेमा साढे ३६ हजार मेट्रिक टन धान नष्ट
Saturday, October 23rd, 2021, 12:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ कात्तिक
बाँकेमा केही दिनअघिको बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेको संकलन गरेको विवरणअनुसार जिल्लामा ३३ हजार पाँच सय ६३ मेट्रिक टन धान नष्ट भएको छ ।
बाँकेमा हालसम्म मात्र १० प्रतिशत अर्थात् तीन हजार ६ सय ५० हेक्टर क्षेत्रफलको धान मात्रै सुरक्षित तवरले थन्काउन पाइएको ज्ञान केन्द्रले जनाएको छ ।
नौ हजार एक सय २५ हेक्टर क्षेत्रफलको धान भने खेतमै भिजेको छ । भिजेकोमध्ये ६० प्रतिशत धानमा क्षति भएको छ । जसबाट २३ हजार चार सय ५२ मेट्रिक टन धानमा क्षति हुन पुगेको छ ।
यसैगरी १० हजार हेक्टर क्षेत्रफलको धान ढलेको छ । ढलेकोमध्ये २३ प्रतिशत अर्थात १० हजार एक सय ११ मेट्रिक टन धानमा क्षति हुन पुगेको छ ।
जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा गतवर्ष प्रति हेक्टर ४.३ मेट्रिक टन धान उत्पादन भएको थियो । उक्त आधारमा हेर्दा जिल्लामा कुल एक लाख ५६ हजार नौ सय ५० मेट्रिक टन धान उत्पादन हुनुपर्नेमा त्यसको २३ प्रतिशत धानमा क्षति हुन पुगेको छ ।
केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसीका अनुसार गतवर्षको तुलना गर्दा यस अवधिमा करिब ५० प्रतिशत धान काटिसकेको हुनुपर्नेमा वर्षाका कारण धान कटाई प्रभावित भएको छ ।
किसानहरुले जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा बेवास्ता गर्दा र सम्बन्धित निकायले किसानहरुसम्म सूचना पुर्याउन नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको छ ।