‘अबको प्राथमिकता अन्तरिक र भारतीय पर्यटक’
Sunday, October 24th, 2021, 6:00 am
Kalpristha
नेपालगन्ज, ७ कात्तिक, (कालपृष्ठ)-
नेपाललको पर्यटन क्षेत्रले अब आन्तरिक र भारतीय पर्यटकलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपालगन्जमा ‘वेष्टन टुरिजम मार्ट नेपाल २०२१’को घोषणा कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीले भने, ‘हाम्रो पर्यटनको भविष्य आन्तरिक र भारतीय पर्यटकमा निर्भर छ ।’ रेग्मीले अब गोरो छाला र खैरो कपालका व्यक्तिहरु मात्रै असली पर्यटक हुन् भन्ने मानसिकतामा परिवर्तन आउनुपर्नेमा जोड दिए ।
नेपालको पर्यटन क्षेत्रले भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतको सबैभन्दा बढी आवादी भएको उत्तरप्रदेश र विहारलाई लक्षित गरेर गतिविधिहरु बढाउनुपर्ने आवश्यकता रेग्मीले औंल्याए । उनले तराईका मुख्य नाका र सहरहरु आसपासका चुरे पहाडमा हिल स्टेशनहरुको विकास गरिएमा भारतीय पर्यटहरुलाई व्यस्त गराउन सकिने औंल्याए । ‘हिल स्टेशनहरुमा पर्यटकीय पूर्वाधार विकास गर्न सक्यौं भने तराईंका सहर र पर्यटकीय गन्तव्यमा आउने पर्यटहरु बस्ने समय लम्ब्याउन सक्छौँ । उनीहरुलाई हिल स्टेशनहरुसम्म पुर्याउन सकियो भने पर्यटनको अर्को आयाम थप्न सकिने पर्याप्त संभावनाहरु छन्,’ रेग्मीले भने ।
नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्सका अध्यक्ष अच्युत गुरागाईं पनि भन्छन्, ‘हामीलाई कोभिडले सिकाएको सबैभन्दा ठूलो शिक्षा भनेको पर्यटक भनेर गोरो छालाका पछि नदौड, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर भन्ने नै हो । यदि यो शिक्षालाई नजरअन्दाज गर्यौँ भने हाम्रो पर्यटन क्षेत्र माथि उठ्न सक्दैन ।’ तर अहिलेसम्म राज्यको नीतिले आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गर्न नसकेको उनले बताए । ‘कानुनमै नेपालबाहेकका देशबाट घुम्न आएकाहरुलाई मात्रै पर्यटक भनेर परिभाषित गरिएको छ । अनि कसरी आन्तरिक पर्यटनको विकासमा राज्य गम्भीर छ भन्न सकिन्छ ?,’ गुरागाईं प्रश्न गर्छन् ।
गुरागाईंले आन्तरिक पर्यटकपछि दोस्रो प्राथमिकतामा भारतीय पर्यटक हुनुपर्ने बताए । ‘हाम्रो देशमा आउन सबैभन्दा सजिलो भारतीय पर्यटकलाई छ । भारतको जनसंख्या पनि नेपालको पर्यटनलाई पर्याप्त छ । तुलनात्मक रुपले नेपालको बाह्य पर्यटनमा सबैभन्दा बढी योगदान भारतीय पर्यटककै छ । तेस्रो मुलुकका पर्यटकभन्दा खर्च पनि भारतीय पर्यटकहरुले नै बढी गर्ने गर्छन् । त्यसकारण अब हामीले क्रसबोर्डर भारतीय पर्यटहरुलाई नै दोस्रो प्राथमिकतामा राख्ने हो,’ गुरागाईंले भने ।
नेपालमा आउने पर्यटकहरुको संख्याका आधारमा सबैभन्दा भारतीय पर्यटक नै छन् । सन् २०१० देखि २०१९ को नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पनि नेपालमा आउने पर्यटकहरुमध्ये सबैभन्दा धेरै पर्यटकहरु भारतीय छन् । सन् २०१८ र २०१९ को तथ्यांकमा पनि २० प्रतिशत पर्यटकहरु भारतीय रहेको देखिन्छ ।
भारतीय पर्यटकलाई छैन उचित व्यवहार
नेपालमा आउने अधिकांश पर्यटकहरु भारतीय भएपनि उनीहरुलाई स्थलमार्गका सीमानाकामा उचित व्यवहार गरिँदैन । भारतीय नम्बर प्लेटका गाडी देख्नेबित्तिकै सुरक्षाकर्मीहरुले अनावश्यक दुःख दिने, ठाउँ-ठाउँमा अनावश्यक चेकिङ गर्ने, अनुचित आर्थिक असुली गर्ने गरेका पर्यटन व्यवसायीहरु बताउँछन् ।
घुम्न आउने पाहुनाहरुलाई सत्कार गर्नुपर्नेमा राज्यले उल्टै अनेक दुःख दिने गरेको व्यवसायीहरुको भनाइ छ । राज्यका विभिन्न निकायहरुबीच नै उचित तालमेल नहुँदा स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुले सास्ति खेपिरहेको र त्यसको नराम्रो सन्देश गइरहेको नाटाका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् ।
नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले पनि विभिन्न कार्यक्रमहरुमा भारतीय पर्यटहरुलाई एक पटकबाहेक ठाउँ-ठाउँमा चेकजाँच नगर्ने र सीमामा सम्मानपूर्वक स्वागत गर्ने सरकारी संयन्त्र निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । ‘पैसा खर्च गरेर घुम्न आएको मान्छेलाई हामी लुट्न खोज्छौँ, अपमानित गर्न खोज्छौँ भने उ फर्केर किन आउँछ ? त्यसकारण भारतीय पर्यटकहरुलाई साँच्चिकै आकर्षित गर्ने हो भने स्थल नाकाहरुमा पर्यटकहरुका लागि राज्यको एकद्वार व्यवस्था हुनुपर्छ । उनीहरुलाई सम्मानपूणर् व्यवहार हुनुपर्छ,’ राणाले भने ।