श्रीराम राईको ‘पोलेको मकै’ बजारमा
Sunday, October 24th, 2021, 4:03 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ७ कार्तिक
आकर्षक डिजाइनमा ‘पोलेको मकै’ बालकथा संग्रह बजारमा आएको छ । बुक्स हिमालयले प्रकाशन गरेको किताबको मूल्य मात्र ९९ राखिएको छ । साना भाइबहिनीहरूका लागि स्कुलमा पठनपाठनमा उपयुक्त ‘पोलेको मकै’ खानमा जत्तिकै पढ्नमा स्वादिला छ ।
खोटाङका स्रष्टा श्रीराम राई १० वर्षे शिक्षण पेसा छाडेर २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न रही कथा,कविता लघुकथा र अन्य साहित्यमा पनि कलम चलाउँदै आएका हुन् । विशेष बालकथा लेख्न मन पराउने राईले धेरे पाठकलाई लघुकथा लेख्न उक्साउने गर्दथे र आफूले पढेलेखेका साहित्यहरूमा श्रोता र लेखक बिचको सुमधुर सम्बन्ध कायम राख्न जुनसुकै साहित्य कार्यक्रममा भाग लिएर पाठकसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गरेका हुन्थे ।

आफ्नो पुस्तकसँग लेखक श्रीराम राई
अग्रज साहित्यकारसँग सम्बन्ध राख्न मन पराउने श्रीराम राई नपत्याउने तरीकाबाट रेडियो,समाचार र टीभी प्रोग्रामहरूमा बरोबर झुल्किने गर्दछ । छोटो समयमै अर्को बालकथा संग्रह निकाल्न सक्षम राईका सो बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडून् र पारुको पढाइ’ शीर्षकका ७ बालकथा छन् ।
‘पोलेको मकै’मा बालमनोविज्ञानलाई केन्द्रमा राखिएको छ । बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए । हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’ को सम्पादन सर्जक गंगा कर्माचार्य पौडेलले र संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् ।
स्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा’ संयुक्त लेखन २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् । विशेष गरी बालकथामा दक्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा पनि उत्तिकै सशक्त छन् ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी-शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बालसाहित्य पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् । हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन् ।
राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव पनि छ । उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि बनेका थिए ।