योजना छिटो पूरा गर्न मेयर राणाको निर्देशन
Sunday, October 24th, 2021, 6:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ कात्तिक
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले चालू आर्थिकवर्ष २०७८÷७९ का योजनाको काम छिटोभन्दा छिटो पूरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार उप–महानगरपालिकाअन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटोभन्दा छिटो गुणस्तरयुक्तरुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिए ।
नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारबाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिए ।
राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगति बारे जानकारी लिँदै अधुरा आयोजनाहरु पनि छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे ।
आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटो भन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाले आग्रह गरेका हुन् ।
सो अवसरमा नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सञ्चालन भई रहेको भन्दै निर्माण कार्यमा कुनैपनि खालको समस्या हुन नदिने गरी काम समयभित्रै हुने वातावरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएका हुन् ।