खाद्य प्रविधिले बढायो बजार अनुगमन
Tuesday, October 26th, 2021, 8:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ कात्तिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बजार अनुगमनको कामलाई तीव्रता दिएको पाइएको छ । कार्यालयले पहिलो तीन महिनामा गरेका कामको विवरण हेर्दा तोकिएको लक्ष्यभन्दा बढी पटक बजार अनुगमन गरिएको छ ।
कार्यालयले पहिलो त्रैमासिकमा खाद्य उद्योगहरुको ३८ पटक अनुगमन गर्ने लक्ष्य रहेकोमा ९१ पटक अनुगमन गरेको छ भने खाद्य बजार १२ पटक अनुगमन गर्ने लक्ष्य तोकिएकोमा २७ र होटेल रेष्टुरेन्टको १३ पटक अनुगमन गर्ने लक्ष्य तोकिएकोमा १६ पटक गरेको छ ।
यसैगरी तत्काल गरिने अनुगमन ३ पटक गर्ने लक्ष्य रहेकोमा ६ पटक, दुध, तेल तथा पानी उद्योगहरुको १० पटक अनुगमन गर्ने लक्ष्य रहेकोमा १७ पटक गरिएको कार्यालयले त्रैमासिक समीक्षा कार्यक्रममा जानकारी दिएको हो ।
यस अवधिमा अनुगमनका क्रममा तीन लाख १२ हजार मूल्य बराबरका सामानहरु जफत गरेर नष्ट गरिएको छ । त्यसरी नष्ट गरिएका समानहरुमा सबैभन्दा बढी खाद्यान्न, दलहन, मसलाजन्य पदार्थ एवं माछा र मासुजन्य पदार्थ छन् । म्याद गुज्रिएको र सडेगलेको अवस्थामा फेला परेकोले ती वस्तुहरु नष्ट गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेककुमार सुवेदीले जानकारी दिए ।
यस अवधिमा नेपालगन्ज-१८ कारकाँदोमा रहेको भाटभटेनी सुपरमार्केटलाई उत्पादन बेच्ने उद्योग बेकरी डि अपरक्रष्टलाई दुई लाख रुपैयाँ जरिवानासहित १५ दिन उत्पादन रोक्का गरिएको छ । उक्त उद्योगले म्याद गुज्रेका सामग्रीबाट बेकरीका उत्पादनहरु बनाई भाटभटेनीलाई सप्लाई गर्दै आइरहेको फेला परेको थियो । उद्योगले बाँकेमा खाद्य अनुज्ञापत्र पनि लिएको थिएन । सो उद्योगले खाद्य अनुज्ञापत्र लिएपछि असोज २५ गतेबाट पुनः सन्चालनमा आएको सुवेदीले जानकारी दिएका छन् ।
यस्तै खजुरा-३ स्थित अन्नपूणर् राईस मिललाई ५० हजार नगद जरिवानासहित हालसम्म उत्पादन रोक्का गरिएको छ । मिलले खाद्य अनुज्ञापत्र नलिएकोले असोज १२ गतेदेखि हालसम्म उत्पादन रोक्का गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय बजार अनुगमनको माग बढ्दै गएको र सन्चार माध्यममा पनि अनुगमन सुस्त भएको भन्दै समाचारहरु प्रकाशित भएपछि अनुगमनलाई तीव्रता दिइएको जनाए । यसैगरी चाडबाडको बेला पनि यही अवधिमा परेकोले अनगुगमनको संख्या बढेको उनको भनाइ छ । यद्धपि उनले अन्य समयमा पनि अनुगमन जारी रहने गरेको दावी गरे ।
पछिल्लो समय बजार अनसुगमनमा व्यवसायी एवं उद्यागीहरुको पनि सकारात्मक सहयोग प्राप्त हुने गरेको अधिकृत सुवेदीले बताए ।
उपभोक्ता अधिकार मन्च बाँकेका अध्यक्ष वसन्त गौतम भने तोकिएको लक्ष्यभन्दा बढी अनुगमन गरेर मात्रै त्यसले वास्तविक परिणाम नदिने बताए । उनले बजारमा अनुगमनको प्रभाव र खाद्य स्वच्छताको अवस्थामा कति परिवर्तन आयो भन्ने कुरालाई कार्यालयको प्रगति मापनको आधार बनाइनुपर्ने माग गरेका छन् ।