भारतीय तरकारीमा विषादी परीक्षण सुरु
Tuesday, October 26th, 2021, 9:02 pm
Kalpristha
नेपालगन्ज, ९ कात्तिक (कालपृष्ठ)-
भन्सार नाका जमुनाह हुँदै भित्रने तरकारीमा विषादी अवशेष विश्लेषणको काम अब खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले गर्ने भएको छ । यसअघि उक्त काम रानीतलाउ सब्जि मण्डीस्थित विषादी अवशेष दू्रत विश्लेषण इकाईबाट हुँदै आएको थियो । उक्त परीक्षणको विश्वसनीयतामा समय-समयमा प्रश्न उठ्ने गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा मेसिन भएपनि त्यससँग सम्बन्धित जनशक्ति नहुँदा सन्चालनमा आउन सकेको थिएन । कार्यालयमा नै विषादी अवशेष परीक्षण हुन थालेपछि अब तरकारीमा भेटिन सक्ने विषादीको उचित परीक्षण हुने र मानिसमा पर्ने प्रभावको विश्वसनीय विश्लेषण हुने कार्यालयका सूचना अधिकारी नेत्र बोगटीले जानकारी दिइन् ।
कार्यालयबाट यही कात्तिक १ गतेदेखि परीक्षण सुरु भएकोमा नौ दिनमा तीन सय ७० भन्दाबढी नमुनाहरु परीक्षण भइसकेको र हाल दैनिक ५० देखि ६० नमुनाहरु परीक्षणका लागि कार्यालय आउने गरेको बोगटीले बताइन् । तर हालसम्म कुनैपनि नमुनामा विषादीको मात्रा बढी भएको नभेटिएको उनले बताइन् । विश्लेषणमा विषदीको मात्रा भेटिएमा त्यस्तो तरकारी नष्ट गर्ने व्यवस्था रहेको उनले बताइन् ।
परीक्षणपछि खान योग्य भनेर प्रमाणित गरेको प्रमाणपत्र पाएपछि मात्रै भन्सारले तरकारी आयात गर्न दिने गरेको छ ।