गठबन्धनबाट संविधान विरोधी खुसी छैनन् : पूर्वसभामुख महरा
Tuesday, October 26th, 2021, 6:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ९ कात्तिक
नेकपा माओवादीका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धनबाट संविधान विरोधी र अन्तराष्ट्रिय केही शक्तिहरु खुसी नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल दाङको चौथो जिल्ला अधिबेशनलाई मंगलबार घोराहीमा सम्बोधन गर्दै प्रवक्ता महराले देशलाई संविधानको ट्रयाकभन्दा बाहिर जान नदिनका लागि बनेको पाँच दलिय गठनबन्धनबाट देशभित्रका संविधान विरोशीहरुसँगै केही बाह्य शक्ति राष्ट्रहरु दुःखी बनेको बताएका हुन् ।
नेता महराले उनीहरुले देश र जनताको समृद्धि नचाहने भन्दै उनीहरुबाट सचेत हुनुपर्ने समेत बताए । देशलाई असंवैधानिक गतिविधिबाट जोगाउनका लागि गठबन्धन बन्दा संविधान विरोधी र विदेशी केही शक्तिहरुको लागि टाउको दुखाईको विषय बनेको उनको भनाइ थियो । ‘देशलाई संविधान बाहिर जान नदिनका लागि पाँच दलिय गठबन्धन बनेको हो । त्यही गठन्धनबाट अहिले सरकार सञ्चालन भैरहेको छ’,प्रवक्ता महराले भने,‘तर पाँच दलिय गठबन्धन बन्दा देशमा संविधान विरोधीहरु र केही विदेशी शक्तिका लागि टाउको दुखाईको विषय बनेको छ ।’
उनले देशमा अस्थीरता चाहने शक्तिहरुका कारण अहिले पनि खतरा रहेको भन्दै उनीहरुबाट सचेत भएर अघि बढ्नपर्ने आवश्यक रहेको बताए ।
उनले देश र संविधानको रक्षासँगै जनताको समृद्धिका लागि पत्रकारहरुलाई कमल चलाउन समेत आग्रह गरेका छन् । विदेशमा देशको राष्ट्रियता संकटमा पर्दा संचार माध्यमहरु एकजुट भएर अघि बढ्ने गरेको अभ्यास रहेको भन्दै पूर्वसभामुख समेत रहेका महराले हाम्रो देशको राष्ट्रियताको लागि सञ्चार माध्यमहरु एकजुट हुनुपर्ने बताए ।
अध्यक्षमा शर्मा
यसैबीच प्रेस सेन्टर नेपाल दाङ शाखाको चौंथो जिल्ला सम्मेलनले पाण्डव शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राकेश बस्नेत, महिला उपाध्यक्ष अनिता पोखरेल, सचिवमा जनक नेपाली, कोषाध्यक्षमा जीवन नेपाली, सहसचिवमा दीपक बोहरा, समावेशी सहसचिवमा राजेश चौधरी रहेका छन् ।
समितिको सदस्यहरुमा आभाष बुढाथोकी, सुमन केसी, बिकास डागी, भागबत भट्टराई, उदिराम चौधरी, सन्तोष डाँगी, शान्तराज बुढा,हेमराज नेपाली ‘परिवर्तन’, उमेश बञ्जाडे र कमल कुँवर रहेका छन् ।