मेडिकल कलेजको आन्दोलन स्थगित
Wednesday, October 27th, 2021, 5:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० कात्तिक
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा नौ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । अस्पताल व्यवस्थापन र कर्मचारीहरुबीच तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको मध्यस्ततामा अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्ता भएको थियो ।
वार्तापछि अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्नेलगायतका सहमति भएको छ ।
अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलिय तथा सर्वपक्षिय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्नेलगायतका सहमति भएको स्रोतले बताएको छ ।
शिक्षण अस्पतालका झन्डै ११ सय कर्मचारी सात बुँदे माग राखेर कार्तिक एक गतदेखि आन्दोलन गरिरहेका थिए । उनीहरुले इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका थिए ।
उनीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, वीमा र स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र विदा थप व्यवस्थित हुनुपर्नेलगायतका माग राखेका छन् ।
अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक व्यवभार थपिने कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आएको छ ।
मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनको अडानबारे यर्थाथ अध्ययन गर्ने बताएको छ ।