‘समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक’
Wednesday, October 27th, 2021, 7:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १० कात्तिक
देशको समृद्धिसँगै अन्तराष्ट्रिय रुपम परिचित गराउनका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल हाप्किडो संघ दाङको आयोजनामा घोराहीमा शुरु भएको हाप्किडो खेल सम्वन्धी तीन दिने राष्ट्रियस्तरको रेफ्रि एन्ड जज सेमिनार उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले देशको पहिचान बढाउने खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै पहल आवश्यक रहेको बताए ।
सेमिनारको उद्घाटन गर्दै घोराही उप-महनगरपालिका प्रमुख नरुलाल चौधरीले राष्ट्रको नामसँगै व्यक्तिको नाम र प्रतिष्ठासँग जोडिएको खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । खेल क्षेत्रको विकासले देशको समृद्धिसँगै हरेक मानिसहलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बन्न महत्वपूणर् भूमिका खेल्ने नगर प्रमुख चौधरीको भनाइ थियो । खेलकुद क्षेत्रलाई अघि बढाउने उद्देश्यअनुरुप घोराही उप-महानगरपालिकाले हरेक वडाहरुमा खेलकुद मैदान निर्माण गर्ने अवधारणा अघि सारेको बताए ।
‘खेलाडीहरुको व्यक्तिगत फाइदासँगै देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि खेलकुद क्षेत्रको आवश्यकता छ । त्यसका लागि खेलकुद क्षेत्रको स्थानीयस्तरबाटै विकास हुन आवश्यक देखिन्छ’, नगर प्रमुख चौधरीले भने, ‘त्यही अनुसार घोराही उप-महानगरपालिकाले एक वडा एक खेलकुद मैदानको अवधाराण अघि सारेको छ ।’
नगर प्रमुख चौधरीले फुटबल र भलिबलसँगै अन्य खेलहरुलाई उपमहानगरपालिकाले विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिले उपमहानगरपालिकाले मेयरकप फुटबल र उपमेयरकप भलिबल प्रतियोगिता सञ्चालन गर्ने गरेको छ’, नगर प्रमुख चौधरीले भने, ‘आगामी दिनहरुका अन्य खेलको विकासका लागि समेत पहल गर्नेछ ।’ युवाहरुलाई अनुशासित बनाउदै समाजको समृद्धिका लागि खेल क्षेत्रको अनिवार्य विकास हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले खेलकुदका माध्यमबाट देशको समृद्धिसँगै युवाहरुलाई अनुशासित र आत्मनिर्भर बनाउनका लागि खेलकुद क्षेत्रको विकासका आवश्यक रहेको बताए । त्यही उद्देश्य अनुसार नेपाल हाप्किडो संघले खेलकुद क्षेत्रलाई ग्रामीणस्तरसम्म विकास गर्दै लगेको बताए ।
हाप्किडो खेलले युवाहरुलाई खेलका माध्यमबाट जोड्दै शारिरीक तथा मानसिकहरुमा स्वस्थ्यसँगै सक्षम अनुशासित नागरिक उत्पादन गर्दै देशको खेल क्षेत्रको विकासमा सहयोग पुर्याउने बताए । त्यही उद्देश्यअनुसार नेपालमा हाप्किडो खेल सहरमा मात्र नभएर देशका कुना-कुनासम्म पुगेको उनले दावी गरे । उनले अहिलेको राष्ट्रिय सेमिनार दाङमा हुन थालेको नेसनल पाँचौ च्याम्पियनसीप प्रतियोगिताको तयारी अन्तर्गत भएको भन्दै सेमिनारलाई उपभोग गर्न खेलाडीहरुलाई आग्रह गरेका थिए ।
दाङ खेलकुदको सम्भावना भएको क्षेत्र भएकाले दाङलाई प्रादेशिक राजधानीसँगै खेलकुदको राजधानीका रुपमा विकास गर्न स्थानीय सरकारसँग अध्यक्ष घर्तिले माग गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पदमा चौधरीले खेलकुद क्षेत्रमा सबैभन्दा अनुशासन भएको भन्दै खेलाडी अनुशासित भएर लाग्नुपर्ने बताए । उनले खेलाडीहरुलाई आफुले सिकेको सीपअनुुसार अघि बढ्न सके सफलता प्राप्त गर्ने समेत बताइन् ।