डोल्पा अस्पतालमा औषधी अभाव
Thursday, October 28th, 2021, 2:20 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ११ कात्तिक
जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ । सामान्य औषधीसमेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ । आर्थिक वर्ष ०७८-०७९ मा स्वास्थ्य सेवा कार्यालयले नियमित रुपमा खरिद गर्नु पर्ने औषधी खरिद नगरेकाले औषधीको अभाव भएको हो ।
जिल्ला अस्पताल दुनैका डाक्टर अखण्ड उपाध्यायले औषधी नहुँदा विरामीको उपचारमा समेत सास्ती व्यर्होनु परेको बताए । सरकारले निशुल्क रुपमा उपलब्ध गराउने टेट्रा साइक्लिन, जेभी पाउडर, एम सि पाउडर, स्प्रीट, टिन्चर, भिटाविन बि कम्लेक्स, ल्वाङको तेल, आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसोयम सल्फेट, अक्सिटोसीन, वेन्जाइल वेन्जोइन, पारासिटामोल, जिन्क र ओरामाइन भ्यालेट लगायतका ३५ प्रकारका औषधीहरुको समेत अभाव रहेको उनले जानकारी दिए ।
अस्पतालमा औषधी नहँुदा उपचारको लागि आएका विरामीहरु स्वास्थ्य परीक्षण गराएर औषधी किन्न निजी मेडिकलमा जानु पर्ने अवस्था छ । जिल्ला अस्पताल जस्तो संवेदनसिल संस्थामा महँगो औषधीको कुरा त परै जाओस् सरकारले निःशुल्क उपलब्ध गराउने ७२ किसिमको औषधीसमेत नभएको अस्पताल प्रशासनले जनाएको छ । सरकारले उपलब्ध गराउने ७२ प्रकारका औषधी भएपनि डोल्पामा मुस्किलले ३५ प्रकारका औषधी पठाउने गरेकोमा यतिखेर उक्त औषधि पनि छैन भनेर मेडिकलमा पठाउने गरेको स्वास्थ्य परीक्षणका लागि अस्पतालमा पुगेका त्रिपुराकोट १ का सन्तोष सार्कीले बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रदेश सरकार मातहत रहदै आएको छ । डाक्टर उपाध्यायका अनुसार नशामा दिने औषधी अस्पतालमा नहँदा विरामीलाई बजारमा रहेका मेडिकलबाट किनेर ल्याउन भन्दा विरामीसंग डाक्टरको विवादसमेत हुने गरेको छ । यता अस्पतालमा मात्र होइन बजारमा रहेका फार्मेसीमासमेत जाँदा औषधी नपाउने गरेको बिरामीहरुको गुनासो छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरबहादुर शाहीले गत आवको औषधी सकिएको र नयाँ आर्थिक वर्षको औषधी खरिद नगरिएको बताए ।
उनले भने, ‘औषधी पनि छैन । भनेको सबै औषधी पनि पुर्याउन सकिदैन ।’ अस्पतालमा रहेको एक्सरे सेवासमेत प्रभावकारी नहुँदा दैनिक समस्या झेल्नु परेको चिकित्सकहरुले बताएका छन् । एक्सरेको प्रिन्टमा खराबी आएकाले हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने भएकाले पनि समस्या आउने गरेको डाक्टर अखण्ड अउापाध्यायको भनाइ छ । जसका कारण सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको अस्पतालले जनाएको छ । विशेषज्ञसहित नौजना चिकित्सक भएको अस्पताल अहिले पाँच जना करारका चिकित्सकको भरमा सन्चालनमा रहेको छ ।