ट्रम्पका कट्टर धारका सल्लाहकारले दिए राजीनामा
Wednesday, February 15th, 2017, 3:41 am
amit
सान फ्रान्सिस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर धारका सल्लाहकारमध्ये एकले राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपतिको सल्लाहकार भएको तीन सातामा नै राजीनामा दिइएको सम्भवत् यो पहिलो हो ।
राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लाइनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उपराष्ट्रपति माइक पेन्सले उनको कामलाई लिएर प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन् । उनको रसियन राजदूतसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्दै आएको थियो भने उनले रसियाबारे उपराष्ट्रपतिलाई मिसलिड गरेको रिपोर्ट नै सार्वजनिक भइरहेका थिए । जसले गर्दा उपराष्ट्रपति पेन्स उनीप्रति सशंकित बनेका थिए ।
तीनतारे जनरलबाट सेवानिवृत्त भएलगत्तै उनी ट्रम्प टावर प्रवेश गरेका थिए । ट्रम्पको उनी निकै विश्वास पात्र बनेका थिए । निर्वाचनमा पनि उनको भाषण ट्रम्पको भन्दा पनि कडा थियो । आप्रवासी विषयदेखि धेरै कुरामा उनको सल्लाहमा ट्रम्प अघि बढ्थे । रसियासँग ट्रम्पको राम्रो सम्बन्धको अर्को आधार उनी पनि थिए । उनले ट्रम्प राष्ट्रपति भएपछि धेरै कलह आएको र सम्बन्ध सुधार तथा सम्पर्कको लागि आफूले त्यसलाई स्वीकार गरेको समेत बताएका छन् ।
सल्लाहकार पूर्व जनरलले आफूले केही कुराहरु भन्न नसकेकोमा माफी समेत मागेको न्युयोर्क टाइम्सले जनाएको छ । उनले छोटो समय भए पनि अमेरिकी राष्ट्रपतिको सल्लाहकार भएर काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले छोटो समयमा परराष्ट्र मामिलामा मारेको फड्कोको मूल्यांकन हुँदै जाने समेत बताएका छन् ।
राष्ट्रपति ट्रम्पको नेतृत्व र समूहले ‘मेक अमेरिका र ग्रेट अमेरिका’ हुने विश्वास आफ्नो रहेको र बाहिर रहेर पनि मुलुकको लागि सधैं सहयोग गरिरहने बताएका छन् । उनले आफ्नो सम्पर्कको बारेमा उपराष्ट्रपति र टिमसँग माफी समेत मागेका छन् । उनीमात्र नभएर अहिले अन्य सल्लाहकार टिममा नै एक प्रकारको भूकम्प आएको छ । साँझ एक्कासी दिइएको राजीनामाले यस्तो कम्पन आएको अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । रसियासँग ट्रम्प निकट रहेको विषयमा धेरै कुराहरु आइरहँदा उनको राजीनामाले त्यो सम्बन्धलाई समेत केही असर गर्ने जानकारहरुको भनाइ छ ।
उनी आप्रवासीको विषयमा समेत निकै आक्रमक थिए । उनी ट्रम्पभन्दा बढी आक्रमक देखिइएका थिए ।