‘यात्री’ कविताको मन्थन
Saturday, October 30th, 2021, 7:11 pm
Kalpristha
निशु जोशी
नेपालगन्ज, १३ कात्तिक
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने साथ कसोरी लाने हो
………..
महाकवि लक्ष्मी प्रसाद देवकोटाको उत्कृष्ठ रचनामध्येको एक हो माथिका पंक्तिबाट सुरु हुने कविता ‘यात्री’ । महाकवि देवकोटाको ११३ औँ जन्म जयन्तीको पूर्वसन्ध्यामा नेपालगन्जमा सोही कवितामाथि मन्थन गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी प्रदेशको आयोजनामा देवकोटाको उक्त कवितामाथि तीनवटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरियो ।
कार्यक्रममा समालोचक लेकप्रसाद प्याकुरेल, लेखक शुक्रऋषि चौलागाईं र कथाकार सुमित्रा न्यौपानेले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै प्याकुरेलले देवकोटाको ‘यात्री’ कवितामा मानवतावादको सुन्दर र लालित्यपूणर् पक्षपोषण गरिएको बताए । कविताले मानव देह र मानव जीवनलाई नै पुज्य वस्तुकोरुपमा चित्रण गर्दै अर्को कुनै मन्दिर धाउनुको औचित्यमाथि प्रश्न उठाएको बताए ।
अर्का कार्यपत्र प्रस्तोता शुक्रऋषि चौलागाईंले ‘यात्री’ कवितामा कविले इश्वरीय चिन्तनको नयाँ र मौलिक आयाम प्रस्तुत गरेको बताए । उनले ‘यात्री’ कवितामा जीवनको पूणर् सन्देश लुकेको धारणा राखे ।
कथाकार न्यौपानेले नेपाली कविताको एक स्तुत्य रचनाकारुपमा ‘यात्री’ कवितालाई चित्रित गरिन् । देवकोटाका फुटकर कवितामा ‘यात्री’ कविताले बोकेको जीवनकेन्द्रित उर्जाले कविताका पाठकलाई सदियौसम्म प्रेरित गरिरहने दावी गरिन् ।
साथै कार्यक्रममा किरण आचार्यको क्यान्टोनमेन्ट कथा संग्रहमाथि समालोचक मिना बरालले समालोचकीय टिप्पणी प्रस्तुत गरेकी थिइन् । उनले कथासंग्रहमा सामाजिक विषयवस्तुको मार्मिक प्रस्तुति गरिएको प्रष्ट्याइन् ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी प्रदेश संयोजक किरण आचार्यको सभापतित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सेनाको प्रमुख आतिथ्यता एवं वरिष्ठ कथाकार सनत रेग्मीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तिमिल्सेना, रेग्मी, नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, प्राडा जनार्दन आचार्यलगायतले पनि बोलेका थिए ।