प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ४–० ले हार्यो बार्सिलोना
Wednesday, February 15th, 2017, 7:28 am
amit
काठमाडौं – बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।
मंगलबार भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस ला लिगा क्लब बार्सिलोनालाई ४–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन एन्जल डि मारियाले दुई तथा जुलियन ड्रेक्सलर र एडिसन काभानीले एक एक गोल गरे । दोस्रो लेगमा पिएसजीलाई फराकिलो गोल अन्तरले हराउन नसके बार्सिलोना क्वाटरफाइनल पुग्न सक्दैन ।
पछिल्लो एक दशकयता पहिलो पटक बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा नपुगी बाहिरिने सम्भावना बढेको छ । बार्सिलोनालाई दबाबमा राखेको पिएसजीले १८ औं मिनेटमा डि मारिया तथा ४० औं मिनेटमा ड्रेक्सलरले गरेको गोलबाट पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफमा पनि पिएसजीले थप दुई गोल गर्यो ।
डि मारियाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो दोल गर्दै अग्रता ३–० मा पुर्याए । ७१ औं मिनेटमा काभानीले गोल गरेपछि पिएसजीले ४–० को शानदार जित निश्चित गरेको हो । यो खेलमा बार्सिलोनाका एमएसएनको रुपमा चिनिने लियोनल मेस्सी, लुइस स्वारेज र नेइमार खेलको थिए । तर उनीहरुले कुनै पनि राम्रो अवसर सिर्जना गर्न सकेनन् । खेल सकिन सात मिनेट बाँकी हुँदा बार्सिलोनाका लागि स्यामुएल उमटिटीले हेड मार्फत पोस्ट प्रहार गरेको थिए । तर त्यो पनि सफल हुन सकेन । लुइस इन्ड्रिकको क्लब बार्सिलोनालाई प्रतियोगितामा रहिरहन आउँदो मार्च ८ मा घरेलु मैदानमा हुने खेलमा फराकिलो जित निकाल्नु पर्छ ।
तर च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म पहिलो लेगमा ४ गोलले पराजित भएको टिमले नतिजा परिवर्त गर्न सकेको छैन । यो सिजन च्याम्पियन्स लिगमा अहिलेसम्म १० गोल गरेका मेस्सीले पिएसजीसँगको खेलमा प्रभावशाली देखिएनन् । राति नै भएको अर्को खेलमा बेन्फिकाले बोरुसिया डर्टमुण्डलाई १–० ले हराएको छ ।
घरेलु मैदानमा भएको प्रिक्वाटरफाइनलको पहिलो लेगमा बेन्फिकालाई जिताउन ४८ औं मिनेटमा कोस्टस मिट्रोग्लोउले गरेको गोल नै निर्णायक बन्यो ।