पालिकास्तरीय भलिबलको फाइनल आज
Sunday, October 31st, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १३ कात्तिक
कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिका खजुरामा भैरहेको जिल्लाव्यापी पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
खजुरा स्थित शुक्र रंगशालामा जारी प्रतियोगिताको समुह ‘ए’ बाट कोहलपुर विजेता र राप्तीसोनारी उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
यसैगरी समुह ‘बी’ मा नेपालगन्ज विजेता र बैजनाथले उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएका हुन । प्रतियोगिताको सेमिफाइनल र फाइनलको खेल आइतबार हुनेछ । आइतबार पहिलो सेमिफाइनलमा कोहलपुरले बैजनाथसँग र दोस्रो सेमिफाइनलमा राप्तीसोनारीले नेपालगन्जसँग प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा बैजनाथले जानकी गाउँपालिकालाई २५-७, २५-१२ ले, कोहलपुरले खजुरा गाउँपालिकालाई २५-११, २५-६ ले, राप्तीसोनारीले खजुरालाई २५-१६, २५-१० ले पराजित गरेको थियो । यसैगरी नरैनापुरले जानकीगाउँपालिकालाई २५-२३, २३-२५, २५-१२ ले हराउन सफल भयो । कोहलपुरले डुडुवालाई २५-९, २५-१२ ले पराजित गर्दा राप्तीसोनारीले डुडुवालाई २५-८, २५-१३ ले र नेपालगन्जले बैजनाथ गाउँपालिकालाई २५-१९, २५-१९, २५-१८ ले र नेपालगन्जले नरैनापुरलाई २५-१२, २५-११ ले हराउँदै सेमिफाइनलमा पुग्यो ।