छात्रवृत्ति भरपाईमा किर्ते हस्ताक्षर
Sunday, October 31st, 2021, 5:30 am
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, १३ कात्तिक
नेपालगन्ज उप-महानगरपालिका-२३ जंगलीसिंहपुर्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्रवृत्ति हिनामिना गरिएको विषयमा कालपृष्ठलाई महत्वपूणर् कागजात प्राप्त भएको छ । जसमा अनेक शंकास्पद तथ्यहरु छन् । तर, सम्बन्धित निकायहरुले ती कागजातको खोजबिन नै नगरेको तथ्य पनि कालपृष्ठलाई प्राप्त भएको छ ।
विद्यालयका प्रधानाध्यापक मुन्ना सिंहले विद्यार्थीहरुका लागि आएको छात्रवृत्ति वितरण नगरी कागजमा मात्रै हिसाब मिलान गरेर रकम हिनामिना गरेको विद्यालयका अभिभावक एवं स्थानीयले आरोप लगाउँदै आएका छन् । यस सम्बन्धमा कालपृष्ठले असोज १८ गते समाचार प्रकाशित गरेको थियो । त्यतिबेला प्रअ मुन्नाले छात्रवृत्ति वितरण गरिएको भरपाई उपलब्ध गराउन आनाकानी गरेका थिए ।
कालपृष्ठको निरन्तरको आग्रहपछि प्रअ मुन्नाले २०७० सालभन्दा यताका वर्षमा वितरण गरिएको छात्रवृत्तिको भरपाई उपलब्ध गराएका छन् । जसमा कक्षा १ का विद्यार्थीले पनि छात्रवृत्ति लिएको भरपाईमा हस्ताक्षर गरेका छन् । जबकी अभिभावकहरु आफ्ना बालबालिकाहरुले कक्षा पाँचमा पुग्दापनि राम्ररी लेख्न नसक्ने गरेको बताउँछन् । सामान्य दृष्टिमा पनि कक्षा १ का विद्यार्थीहरुले गरेको हस्ताक्षर होइन भन्न सकिने गरी हस्ताक्षर किर्ते गरिएको छ ।

छात्रवृत्तिको भरपाई
विद्यालयले तयार गरेको भरपाईमा कक्षा १ का विद्यार्थीहरुले गरेको हस्ताक्षर हेर्दा लाग्छ, विद्यालयमा १ कक्षामा पढ्न आउने विद्यार्थीहरु घरमै पढाई लेखाईमा पोख्त भएर आउँछन् । हरेक विद्यार्थीको नाममा गरिएको हस्ताक्षर उस्तै छन् । नाम लेख्ने व्यक्तिको अक्षरसँग हस्ताक्षर पनि हुबहु मिल्छन् । एक हस्ताक्षर र अर्को हस्ताक्षर एकरुपता छ ।
यसरी किर्ते हस्ताक्षर एक वर्षमा मात्रै गरिएको छैन । हरेक वर्षको छात्रवृत्ति भरपाईमा प्रअले आफ्नै दुवै हात प्रयोग गरी किर्ते हस्ताक्षर गरेको अभिभावकहरुको आरोप छ । अभिभावकहरु पनि आफ्ना बालबालिकाले अहिलेसम्म छात्रवृत्ति नपाएको बताउँछन् ।
अभिभावकहरु विद्यार्थी भनेर तयार गरिएको सूचीनै फर्जी भएको बताउँछन् । प्रधानाध्यापकले फर्जी विद्यार्थीको नाम लेखी आफै दस्तखत गरेर विद्यालयमा विद्यार्थीका नाममा आउने छात्रवृत्तिदेखि पाठ्यपुस्तकमासमेत घोटाला गर्दै आएको आरोप अभिभावकहरुको छ । जुन आरोपलाई भरपाईले पुष्टि गर्ने आधार देखाएको छ ।
विद्यालयमा कक्षा २ का विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको सूचीमा पुष्पा सिंह चौहानको नाम छ, अभिभावकको नाममा वहीस शेषको नाम ऐजन गरिएको छ, हस्ताक्षर प्रदीप सिंहले गरेका छन् । यस्ता कैफियतहरु विद्यार्थीहरुको सूचीमा अनेक ठाउँमा भेट्न सकिन्छ । एउटै कक्षामा एकसय भन्दा बढी विद्यार्थी रहेको विद्यालयका अघिल्ला वर्षका सूचीमा देख्न सकिन्छ । अभिभावकहरु ती वर्ष सबै कक्षामा गरी पनि त्यति विद्यार्थी नपुग्ने दावी गर्छन् ।

छात्रवृत्तिको भरपाई
उक्त विद्यालय रहेको क्षेत्रका एक सय २४ जना स्थानीय बासिन्दा एवं अभिभावकहरुले गत असार २८ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा विद्यालयमा भएका अनियमितता र बदमासीविरुद्ध छानबिन गरिदिन माग गर्दै निवेदन दिएका छन् । उक्त निवेदन पनि कालपृष्ठसँग सुरक्षित छ । गाउँभरीका मानिसहरु मिलेर निवेदन दिँदा पनि सम्बन्धित निकायले छानबिनमा तदारुकता देखाएको पाइएन ।
प्रधानाध्यापक सिंह किर्ते हस्ताक्षर नगरिएको र अभिभावकले लगाएको आरोप झुटो हो भन्नेबाहेक तर्क गर्न सक्दैनन् । उनी व्यक्तिगत रिसिइबीका कारण स्थानीयहरुले आफूलाई बदनाम गर्न खोजेको दावी गर्छन् । व्यवस्थापन समिति अध्यक्ष सिंहले विद्यालयमा भाडभैलो मच्चाउन खोजेको उनी आरोप लगाउँछन् ।
विद्यालय व्यवस्थापन समितिमा स्थानीय वेदप्रकाश सिंह चुनिएर आएपछि विद्यालयमा भएको अनियमितताको श्रृंखला प्रकाशमा आएको हो । अध्यक्ष सिंहले यसअघिका वर्षमा छात्रवृत्ति वितरण गरेको विषयमा हिसाबकिताब माग्दा प्रधानाध्यापकले आफ्ना मान्छेहरु बोलाएर हातपात गरेको र धम्की दिँदै आएको बताए ।
अभिभावकहरुले गत चैत्र महिनामा नै प्रधानाध्यापकसमक्ष हालसम्म वितरण भएको छात्रवृत्तिको भरपाई एवं विवरणबारे सुचना माग गरेपनि प्रधानाध्यापकले उक्त सुचना उपलब्ध गराएका छैनन् ।
वर्षौंदेखि छात्रवृत्ति हिनामिना हुँदै आएको विद्यालयमा पढाईको अवस्था भने नाजुक छ । भर्ना गरिएका बालबालिकाको करिब २० प्रतिशत मात्रै नियमित विद्यालय आउने गरेको पाइएको छ । अभिभावकहरु पनि बालबाललिकालाई विद्यालय पठाउन ध्यान नदिने गरेको शिक्षकहरु बताउँछन् । अभिभावकहरु भने विद्यालयमा राम्रो पढाई नहुने भएपछि अधिकांश बालबालिका स्थानीय मदरसामा जाने गरेको र कतिपय निजी विद्यालयमा जाने गरेको बताउँछन् ।
प्रअ मुन्नाले छात्रवृत्ति हिनामिना गरेको आरोप | KalpristhaNews.com