नगरलाई कुपोषण मुक्त बनाइने
Saturday, October 30th, 2021, 9:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ कात्तिक
नेपालगन्ज उप-महानगरपालिका भित्रका बालबालिकालाई पूणर्रुपमा कुपोषण मुक्त बनाउनका लागि दुईदिने कुपोषित बालबालिका पहिचान अभियान सम्पन्न भएको छ । पालिकाभित्रका २३ वटै वडामा रहेका बालबालिकाको अवस्था पहिचान गर्न गत शुक्रबार र शनिबार २३ वटै वडामा अभियान संचालन गरिएको हो ।
सुआहारा र भेरी वातावरणिय विशिष्टता समूह (बी-ग्रुप) को सहयोगमा नेपालगन्ज उप-महानगरपालिकाले नगरमा कुपोषण भएका बालबालिको पहिचान गर्ने अभियान संचालन गरेको हो । अभियानमा स्वास्थ्य कार्यालय, नगरपालिका, सुआहारा र बी-ग्रुपका प्रतिनिधिहरुको घर-घरमा पुगेका बालबालिकाको अवस्थाबारे जानकारी लिएका हुन् ।
पोषण फोकल पर्सन वास्ती मल्ल वडामा रहेका कुपोषित बच्चा पत्ता लगाउन कार्यक्रम आयोजना गरिएको बताउँछिन् । उनले कार्यक्रममा ६ महिनादेखि ५९ महिनसम्मका बालबालिकालाई पाखुराको नाप लिएर पोषणको अवस्था लेखाजोखा गरिएको बताइन् ।
मल्लले भनिन्, ‘कार्यक्रमबाट पत्ता लागेका कुपोषित बच्चाहरुलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्यचौकी लाने र उनीहरुको उपचार पनि गराउने काम गर्छौं । समुदायमा सुपोषित बच्चाहरुमा हुन भन्ने हाम्रो उद्देश्य हो ।’
पोषण तथा स्वास्थ्य अधिकृत शिवा पाण्डे सामुदायिक रुपमा पहिलेदेखिनै बच्चामा पोषण चोकजाँच गर्दै आएको बताइन् । उनले योपटक अभियानकै रुपमा बच्चामा पोषण चोकजाँच गरेको बताइन् ।
सुआहारा पोषणको पालिका सहजकर्ता सरस्वती विसी वडामा रहेका स्वयम्सेविकाका साथै बच्चाको पोषण अवस्थाका बारेमा जाँच भएको बताउँछिन् ।
नेपाललगन्ज उप-महानगरपालिका स्वास्थ्य शाखा सिअनमी निरीक्षक सिलता खड्काले कोभिडपश्चता समुदायमा कुपोषित बच्चाको संख्या बढेको बताइन् । उनले विशेष गरी मधेसी एवम् विछडियका समुदायमा कुपोषित बच्चाहरु भेटिएको बताइन् ।
ॅकोभिडले गर्दा निम्न वर्ग र मधेसी समुदायमा धेरै प्रभाव पारेको छ । दैनिक काम गरेर खाने मान्छेको आर्थिक स्थिति खराब भएका कारण तेस्ता समुदायका बच्चाहरुमा कुपोषण देखिएको हो,’ खड्काले भनिन् ।
अभियानका क्रममा शुक्रबार नगरका वडा नम्बर ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र २३ मा र शनिबार बाँकी अन्य वडामा पोषण चेकजाँच गरिएको थियो ।