नेपालगन्जको ‘जम्बो’ प्रहरीको ‘वर्ष कुकुर’ घोषित
Wednesday, November 3rd, 2021, 1:23 pm
Kalpristha
नेपालगन्जमा रहेको ‘जम्बो’ कुकुरलाई नेपाल प्रहरीले ‘वर्ष कुकुर’ घोषणा गरेको छ । अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएको जम्बो प्रहरीको यस वर्षको ‘वर्ष कुकुर’ ठहरिएको छ । नेपालगञ्जमा रहेको जम्बोलाई उत्कृष्ट वर्ष कुकुरको मेडल प्रदान गरिएको केनाइन महाशाखाका डिएसपी डा.रामचन्द्र सत्यालले जानकारी दिए । जम्बोले पाएको मेडल ह्याण्डलरमार्फत नेपालगञ्ज पठाइएको छ । जम्बो जर्मन सेफर्ड जातको कुकुर हो ।
स्वदेशमै खरिद गरेर प्रहरी जवान जगत विष्टले ह्याण्लिङ गरेर जम्बोलाई अपराध अनुसन्धानमा प्रयोग गर्न योग्य बनाएका थिए ।
२०७७ मंसिर २७ मा कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटामा हत्या गरिएकी ५९ वर्षको सुशीला खड्काको हत्याको अनुसन्धान जम्बोको सहयोगमा गरिएको थियो । रुकुम पश्चिम र सल्यानमा भएको हत्याका घटना पत्ता लगाउन पनि जम्बोले उत्कृष्ट भूमिका खेलेको थियो ।
नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । काठमाडौंमा केनाइन महाशाखाले गराएको प्रतिस्पर्धामा बेल्जियम सेफर्ड जातकी रियाले दोहोरो मेडल जितेकी छिन् । हाइजम्प र बाधापारमा रियाले दोहोरो मेडल हाँसिल गरेको डिएसपी सत्याले बताए । दौडतर्फ यसवर्षको उत्कृष्ट कुकुरचाहिँ कालु भएको छ । कालु ल्यावरोडर जातको कुकर हो ।
प्रहरीसँग नेपालभरी ८७ ओटा तालिमप्राप्त कुकुर छन् । काठमाडौंस्थित केनाइन महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४७ वटा कुकुर छन् । प्रहरीसँग ७ प्रजातिका कुकुर छन् । ती कुकुरहरुलाई अपराध अनुसन्धानमा प्रयोग गरिन्छ ।