महंगिदै तिहार
Thursday, November 4th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
यस वर्षको तिहार पर्व सुरू भएको छ । यसबेला मानिसहरूको आवातजावतसँगै आर्थिक गतिविधि पनि बढ्छन् । बजारमा लाग्ने उपभोक्ताको घुइँचोले चाड आएको जनाउसँगै रौनक पनि थपिन्छ । दसैँपछिको ठूलो चाड भित्रिएसँगै गाउँदेखि सहरसम्म चहलपहल बढेको छ । तिहारका लागि आवश्यक सामान किनमेल गर्नेहरूको भिड देखिन थालेको छ ।
तिहारमा माला, बत्ती, दियो, पाला, टीका, भाइ मसला र ढाका टोपी बढी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।
यो बेला घरायसी तथा भान्साका सामानहरूको बिक्री समेत धेरै हुन्छ । व्यवसायीहरूका अनुसार तिहारको लागि चाहिने त्यस्ता अधिकांश सामानहरू भारतबाट ल्याइने गरिएको छ । जसले गर्दा वर्षेनी चाडपर्व महँगो हुँदै गएका छन् । कपडा, खाद्यान्नलगायतका वस्तुको मागसमेत अत्याधिक हुँदा चाडपर्वहरूमा मूल्य बृद्धि हुने गरेको छ ।
यसपटक भाइ मसलाको मूल्य पनि बढेको छ । उक्त मसला प्याकेटको २० रूपैयाँदेखि सात सयसम्म पर्छ । यो मूल्य पोहोरको भन्दा दोब्बर हो । त्यस्तै, ओखरको भाउ पनि अहिले निकै बढेको छ । जुुम्लाको ओखर प्रति केजी एक हजार, चाइनाको ६ सय ५० र भारतबाट आएको ओखर केजीको सात सय रूपैयाँमा बिक्री भइरहेको छ । फूल र मसलामा समेत परनिर्भर हुँदा तिहार खर्चिलो हुँदै गएको व्यवसायीहरू बताउँछन् ।
नेपालगन्जको सदरलाईनमा सडकमै भाइमसला र तिहारमा प्रयोग हुने सामग्रीको बजार लागेको छ । यसैगरी धम्बोझीमा फुटपाथमा मिठाईका स्टलहरु राखिएका छन् । भाँडाकुडाका पसलहरुले सडकमै त्रिपाल टाँगेर सामान बेच्ने गरेका छन् । नेपालगन्ज उप-महानगरपालिकाले प्रतिदिन प्रतिस्टल दुई सय रुपैयाँ राजस्व लिएर सडकमै पसलहरु राख्न दिने गरेको राजस्व शाखाका अधिकृत वीरबहादुर थापाले जानकारी दिए । त्यस्ता पसलहरु करिब ७ दिनसम्म सडकमै सन्चालन गर्न पाउने उनले बताए ।
सडकमै पसल सन्चालन गरिएपछि आवजातमा भने कठिनाई हुने गरेको छ । यद्धपि यसरी सडकमै बजार लाग्ने प्रचलन नेपालगन्जको परम्परागत चलन भएको जानकारहरु बताउँछन् ।
यसवर्ष धेरैजसो वस्तुहरु गतवर्षभन्दा झण्डै दोब्बर मूल्य तिनुपरेको नेपालगन्जकी सावित्री योगीले बताइन् । ‘बजारमा मूल्य त बढेको रहेछ । धेरैजसो सामानहरु पोहोरभन्दा झण्डै दोब्बर पर्यो,’ उनले भनिन् ।
चाडपर्व मनाउँदा देखासिकी गर्ने प्रचलनले पनि तिहार सर्वसाधारणका लागि महंगो हुँदै गएको सम्बद्धहरु बताउँछन् ।