‘सूर्यवंशी’ले ब्युँझायो क्युएफएक्स बागेश्वरी
Monday, November 8th, 2021, 8:26 pm
Kalpristha
लामो समयपछि नेपालगन्जस्थित क्युएफएक्स बागेश्वरीमा चलचित्र हेर्न पुगेका दर्शकहरु
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ कात्तिक
करिब दुई वर्षसम्म नेपालगन्जको एकमात्र क्युएफएक्स बागेश्वरी सिनेमा हल बन्द रह्यो । पहिलो र दोस्रो लकडाउनका बीच केही महिना खुला भएको हल सोचेअनुसार चल्न सकेन । त्यसपछि सबै गरेर ३९ जना कर्मचारी रहेको हलका ५० प्रतिशत कर्मचारी कटौति गर्नुपर्ने बाध्यता आइलाग्यो । दर्शकहरुले गुल्जार हुने हल परिसर सुनसान भयो ।
लकडाउनभरी हलका सन्चालकले अनेक तनाव भोगे । अब हलको भविष्य के हुने हो ? कसैले भन्न सक्ने स्थिति थिएन । बजारमा सिनेमा हलमा दर्शकहरु आउने अवस्था नआउने हल्ला चल्दै थिए । दर्शकहरु हलसम्म नआउने जोखिमले हल खोल्न पाउने अनुमति पाएको लामो समयसम्म पनि सन्चालनमा आउन सकेन । तर, तिहार सुरु भइसकेपछि अस्ति कात्तिक १९ गतेबाट क्युएफएक्स हल पुनः सन्चालनमा आयो । हल सन्चालनमा आएसँगै दर्शकहरुको आगमनले हल सन्चालक पुनः उत्साहित भएका छन् ।
हल पुनः सन्चालनको मौका र चलचित्रको पनि उचित संयोजन भएपछि राम्रो परीणाम निस्किएको हलका ड्युटी अफिसर अजय चौधरी बताउँछन् । अहिले हलमा बलिउड फिल्म ‘सूर्यवंशी’ चलिरहेको छ । भारत लगायत दक्षिण एसियाका धेरै देशमा हलहरुलाई पुनः बिउझाउन सफल ठूलो लगानीको चलचित्र सुर्यवंशीलाई नेपालगन्जका दर्शकहरुले पनि औधी मन पराएका छन् ।
हल सन्चालनमा आएकै दिनदेखि हाउसफुल भइरहेको अफिसर चौधरी बताउँछन् । यद्धपि अहिले दुइवटा हलमध्ये एउटा हलमात्रै सन्चालनमा ल्याइएको छ । बिहान ८ः३०, ११ः३०, दिउसो ३ः४ं५ र साँझ ६ः४५ गरी दिनमा चार शो मा ‘सुर्यवंशी’ चलिरहेको छ । चारवटै शोहरु प्राय: फुल हुने गरेको अजय बताउँछन् ।

ड्युटी अफिसर अजय चौधरी
‘सूर्यवंशी’ मनोरन्जनको फुल प्याकेज भएको कोहलपुरबाट चलचित्र हेर्न आइपुगेका हेम न्यौपानेले बताए । धेरैपछि हलमा बसेर चलचित्र हेर्न पाउँदा नौलो महसुस गरेको उनले बताए । हलमा कोरोना लक्षित सावधानी पनि पूरा गर्ने गरिएको ड्युटी अफिसर चौधरी बताउँछन् । अब पुनः पहिलेजस्तै हलमा बसेर फिल्म हेर्ने दिन फर्किएकोमा खुसी लागेको दर्शकहरुले बताए ।
‘सूर्यवंशी’ले हल ब्युँझाईदिएपछि अब बिस्तारै कर्मचारीहरुलाई पुनः काममा फर्काइने चौधरीले बताए । ‘हल नै बन्द हुन्छ कि भन्ने चिन्तामा रहेका हामीलाई अब थप नयाँ गर्न सकिन्छ भन्ने हौसला मिलेको छ,’ चौधरी भन्छन्, ‘नेपालगन्जको मनोरन्जनको एक भरपर्दो विकल्प क्युएफएक्सलाई थप दर्शकमैत्री बनाउँदै लैजान्छौँ ।’
अब हल चल्ने आशा आउन लागेका चलचित्रका कारण पनि देखिएको चौधरी बताउँछन् । लगत्तै साउथ इण्डिएन ‘केजिएफ’, ‘आरआरआर’ सलमान खानको ‘अन्तिम’, नेपाली चलचित्र ‘प्रेमगीत-३’, ‘ए मेरो हजुर-४’, ‘म यस्तो गीत गाउँछु-३’, ‘छक्का पन्जा-४’ ले दर्शकहरुलाई हलसम्म आउने वातावरण बढाउँदै लग्ने उनले बताए । ‘चलचित्र राम्रो भयो भने दर्शकहरु हलसम्म आउँछन् भन्ने प्रमाणित भएको छ । अब आउने चलचित्र पनि दर्शकहरुले पर्खेका चलचित्र हुन्,’ अजयले भने ।