डुडुवा-५ बालविवाह मुक्त वडा घोषणा
Tuesday, November 9th, 2021, 8:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, २३ कात्तिक
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ लाई मंगलबार एक कार्यक्रमका वीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाको वडा नम्बर ५ पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको हो ।
कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई वालविवाह मुक्त घोषणा गरिएको थियो ।
घोषणासभामा बाल विवाहको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा २० प्रतिशतभन्दा कम बालविवाह भएकोले बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार डुडुवा गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए ।
‘हामी सबैको प्रतिबद्धता बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा सभा-२०७८ लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए । उनले अन्य वडालाई पनि बाल विवाह मुक्त वडा बनाउन सम्बन्धित सरोकारवाला निकाय पनि सक्रिय भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका वडा नं.५का वडा सभापति बेल बहादुर बोहरा, जनता समाजवादी पार्टी, क्षेत्र नम्बर २ का सभापति सूर्यलाल यादव, नेपाल युवा परिषद्, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, स्वास्थ्य चौकीका ईन्चाज वीरबहादुर पुन, ईलाका प्रहरी कार्याल, कम्दीका ईन्चार्ज गोपाल प्रसाद शर्मा, किशोरी क्लब तथा बाल क्लबका पदाधिकारी लगायत सम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।