आजदेखि जनगणना सुरु
Thursday, November 11th, 2021, 12:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ कात्तिक
आजदेखि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाका लागि देशभर ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।
बाँकेमा जनगणनाका लागि ६ सय १७ गणक खटिने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख वेदप्रसाद ढकालले जानकारी दिए । जिल्लाका आठवटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गरिने उनको भनाई छ । यही कात्तिक २५ गतेदेखि देशभर जनगणना हुँदैछ । मंसिर ९ गतेलाई भने सरकारले जनगणनाको मुख्य दिनका रूपमा लिएको छ । संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई थप महत्वपूणर्रुपमा हेरिएको छ ।
यसअघि जनगणनाअन्तर्गत पहिलो चरणमा गरिएको घरधुरी सर्वेक्षणले जिल्लामा एक दशकमा ३७ हजार घर थपिएका देखाएको छ । वि.सं. २०६८ सालमा भएको जनगणना अनुसार बाँकेमा ९४ हजार ७ सय ७३ घरधुरी रहेकोमा पछिल्लो गणनामा उक्त संख्या एक लाख ३१ हजार दुई सय ८३ पुगेको छ । यद्धपि यो संख्या पनि दोस्रो चरणको गणनापछि नै यकिन हुने छ ।
कार्तिक २५ देखि सुरु हुने दोस्रो चरणमा यसअघि सुपरिवेक्षकले तयार पारेको घरधुरी र त्यसमा बस्ने परिवार संख्याको विवरण लिएर गणकले परिवार सदस्य संख्या सहितको विस्तृत विवरण संकलन गर्नेछन् । एउटा सुपरिवेक्षकले १ हजार देखि १ हजार ६ सयसम्मका गणकसँग समवन्य गर्नेछन् ।
वि.सं. २०६८ को जनगणनामा बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको थियो ।
आमनागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको चित्रण गर्नको लागि प्रायः सबै पक्षका प्रश्न समेटिएका छन् । जसका लागि विभिन्न प्रकृतिका ५५ वटा प्रश्न समावेश छन् । प्रत्येक दश-दश वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा गरिएको थियो ।
एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने छन् । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना गणक खटिएका छन् ।
जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने छ । एक जना गणकले औसतमा १५ दिनमा एक सय ७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए ।
अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने तथ्यांक विभागको तयारी छ ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने बताएका छन् । त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने उनको भनाइ छ ।