कांग्रेस बाँकेको महाधिवेशनका कार्यक्रम प्रभावित
Thursday, November 11th, 2021, 12:43 pm
Kalpristha
बाँकेमा कांग्रेसको महाधिवेशनको मुखमा सदस्यता विवाद पुनः ब्युँताइएपछि महाधिवेशन अन्तर्गतका कार्यक्रम प्रभावित भएका छन् । यही कात्तिक २७ गते सम्पन्न हुने वडा तहको निर्वाचनको सम्पूणर् तयारीको प्रक्रिया सुरु भइसकेको अवस्थामा कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम वर्मा र जिल्ला उपसभापति फुलाराम थारुले फर्जी सदस्यहरुको सूची केन्द्रमा पठाएको भन्दै अर्को पक्षले जिल्ला निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरको छ ।
तालाबन्दीपछि निर्वाचन कार्यक्रम प्रभावित भएका छन् । जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा बुधबार राती अबेर सम्पन्न भएको बैठकले महाधिवेशन अघि तोकिएका कार्यक्रम स्थगित गरेको छ ।
बैठकले कांग्रेसको वडा तहको निर्वाचन, निर्वाचन तालिका बमोजिम कात्तिक २७ गते सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतहरुको अभिमुखिकरण कार्यक्रम स्थगित गरेको छ । उक्त कार्यक्रम कात्तिक २५ गते बिहीबार गर्ने तय गरिएको थियो ।
तालाबन्दीबाट निर्वाचन कार्यक्रम प्रभावित भएकाले उक्त समस्यालाई यथाशिघ्र समाधान गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँके, बाँके जिल्ला अन्तर्गत तीन वटै क्षेत्रीय सभापति एवम् समिति, नेपाली कांग्रेस पार्टी जिल्ला बाँकेस्थित जिम्मेवार तहमा बस्ने (पदासिन) नेतृत्वलाई अनुरोध गर्ने निणर्य बैठकले गरेको छ ।
यस्तै, सचिवालयमा लगाइएको तालाबन्दीका विषय समाधान गर्न नेपाली कांग्रेस पार्टी जिल्ला कार्यसमिति, क्षेत्रीय सभापतिहरु एवं जिम्मेवार नेतृत्वहरुसँग कात्तिक २५ गते(बिहीबार) छलफल गर्नका लागि अनुरोध गर्ने निणर्य पनि गरेको छ ।
यसैगरी, निर्वाचन समितिको सचिवालयमा तालाबन्दी भएको अवस्थामा यससँग सम्बन्धित वस्तुस्थिती एवं समस्या समाधानका लागि भएका पहल कदमीका विषयमा केन्द्रिय निर्वाचन समितिमा जानकारी गराउने निणर्य पारित गरिएको जिल्ला निर्वाचन परिचालन समितिद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।