वीरेन्द्र जैसी नेपालगन्ज, २४ कात्तिक
नेपालगन्जको ऐतिहासिक महत्व बोकेको रानीतलाउ नेपालगन्ज उप-महानगरपालिकाले सबैभन्दा पहिले जीर्णोद्धार गरी सन्चालनमा ल्याएको तलाउ हो । तर उक्त तलाउले दुई वर्षकै अवधिमा अनेक उतारचढावहरु व्यहोर्यो ।
सुरुवातमा धेरै मानिसहरुलाई आकर्षित गरेको तलाउ सन्चालनमा सबैभन्दा ठूलो धक्का कोरोना महामारीमा लाग्यो । ३५ लाख रुपैयाँ खर्चेर तयार गरिएको तलाउ सन्चालन गर्न जिम्मा लिएको ठेकेदारले उप-महानगरपालिकालाई बुझाउने रकम र सन्चालन खर्च उठाउन नसकेको भन्दै छोडेर हिड्यो । ठेकेदारले छोड्दा पहिले सन्चालनमा रहेका बोटहरु पनि बिगारेर गयो ।
हाल अर्को एक ठेकेदारले ताल सन्चालनको जिम्मा लिएका छन् । असोज ५ गतेदेखि ताल नयाँ ठेकेदारले सन्चालन गरिरहेका छन् । तालमा खटिएका कर्मचारी दीपक खनालले हाल सुरुवातमा जस्तै सबै सुविधाहरु सुरु भएको बताए । यद्धपि सुरुवातमा जस्तो तालको सरसफाई र व्यवस्थापन चुस्त छैन ।
तलाउमा प्रवेश गर्नका लागि १० रुपैयाँ र बोटिङ गर्दा २५ रुपैयाँ शुल्क लिने गरिएको छ ।
नेपालगन्जमा स्थानीय सरकार बनेपछि दुईवटा प्राकृतिक र एउटा ऐतिहासिक मानव निर्मित गरी तीनवटा तलाउहरुको भौतिक संरचना सुधार गरी पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ । तर तीनवटै तलाउमा पर्यटकीय गतिविधि अपेक्षा गरेअनुसार हुन सकेको छैन । त्यसो हुनुका पछाडी यी तलाउहरुमा मानिसहरुलाई आकर्षित गर्ने मनोरन्जनका साधन र क्रियाकलापको कमि र भर्खरै सन्चालनमा आएका निजी एवं कृत्रिम फनपार्कप्रतिको आकर्षण मुख्य कारण रहेको सम्बद्धहरु बताउँछन् ।