कांग्रेस बाँकेमा लगाइएको ताला खोलियो
Thursday, November 11th, 2021, 5:38 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको निर्वाचन समितिको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ । केन्द्रिय कृयासिल सदस्यता छानबिन समिती सदस्य, केन्द्रिय निर्वाचन समितीका पदाधिकारी एवं सदस्यहरु र जिल्ला निर्वाचन अधिकृत सँगको संवाद र छलफलबाट २३९ फर्जी कृयासिल सदस्यता लाई वैधानिकता नदिने प्रतिबद्धता व्यक्त भए पछि ताला खोलिएको महाधिवेशन प्रतिनिधि पूर्ण आचार्यले जानकारी दिए ।

क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले महाधिवेशनको मुखमा आएर फर्जी क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाएको भन्दै अर्को पक्षले तालाबन्दी गरेको थियो ।
तालाबन्दीका कारण महाधिवेशन अन्तर्गतका कार्यक्रम प्रभावित भएका छन् । यही कात्तिक २७ गते सम्पन्न हुने वडा तहको निर्वाचनको सम्पूण्र् तयारीको प्रक्रिया सुरु भइसकेको अवस्थामा तालाबन्दीपछि निर्वाचन कार्यक्रम प्रभावित भएका हुन् । जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा भएको बैठकले कांग्रेसको वडा तहको निर्वाचन, निर्वाचन तालिका बमोजिम कात्तिक २७ गते सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतहरुको अभिमुखिकरण कार्यक्रम स्थगित गरेको छ । उक्त कार्यक्रम कात्तिक २५ गते बिहीबार गर्ने तय गरिएको थियो ।